१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

डिजिटल अधिकार केन्द्रित १७औँ राष्ट्रिय युथ मेला आइतबारसम्म चल्ने

एम्नेस्टी इन्टरनेसनल नेपालले २०८२ वैशाख २६ (आजदेखि) २८ (९–११ मे २०२५) सम्म चितवनको भरतपुरमा १७औँ राष्ट्रिय युथ मेला आइतबारसम्म चल्ने भएको छ। यो मेलामा देशभरका एम्नेस्टी नेपालमा आबद्ध युवा सञ्जाल, समूह र व्यक्तिगत सदस्यका सयभन्दा बढी युवा सहभागी छन्। 

‘डिजिटल समावेशिता: आवाज, पहुँच र गोपनीयताको सुनिश्चितता’ नारासहित यो मेला डिजिटल अधिकारमा केन्द्रित छ। युवा सशक्तीकरण र मानवअधिकार अभियानमा युवाको सहभागिता सुदृढ गर्ने उद्देश्यअनुरूप मेलामा डिजिटल अधिकार, जलवायु न्याय, सङ्क्रमणकालीन न्याय र एलजिबिटिआइ+ अधिकारका विषयमा अन्तरक्रियात्मक सत्र र कार्यशाला सञ्चालन हुनेछन्। सहभागीले यी मुद्दामा ज्ञान र अभियान सञ्चालनका व्यवहारिक सीप हासिल गर्नेछन्। 

वैशाख २६ मा उद्घाटनसँगै विगतका १६ युथ मेलाको वृत्तचित्रमार्फत समीक्षा र एम्नेस्टी अभियानमा युवाको योगदानलाई सम्मान गर्ने सत्र आयोजना हुनेछ। सोही दिन ‘डिजिटल क्षेत्रका चुनौती र सम्भावनाहरू’ विषयमा प्यानल छलफल हुनेछ, जसमा अपाङ्गता अधिकारकर्मी अस्मिता देवकोटा, नारीवादी कानुनविद् दीक्षा खड्गी, पत्रकार लोकेन्द्र बिक, बृहत् नागरिक आन्दोलनका अभियन्ता स्वस्तिका माली, एलजिबिटिआइ+ अधिकार अभियन्ता रुक्सना कपाली र डिजिटल राइट्स नेपालका सन्तोष सिग्देल सहभागी हुनेछन्। 

वैशाख २८ मा गाजामा जारी जातीय नरसंहारको अन्त्यका लागि सार्वजनिक आह्वानसहितको अभियानात्मक कार्यक्रम गरी मेला समापन हुनेछ। एम्नेस्टी नेपालले सन् २००६ देखि युथ मेला आयोजना गर्दै आएको छ, जसमा हालसम्म १६ सय भन्दा बढी युवाले सहभागिता जनाइसकेका छन्। नेपालमा १९६९ देखि सक्रिय यो संस्थासँग हाल ६ हजार सदस्य छन्, जसले आप्रवासी श्रमिक, महिला, दलित र अन्य वञ्चित समुदायको अधिकारका लागि अभियान सञ्चालन गर्दै आएको छ। 

प्रकाशित: २६ वैशाख २०८२ १५:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App