१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

जलवायु परिवर्तनबाट प्रभावित समुदायलाई सहयोग गर्न च्यारिटी डिनर कार्यक्रम

जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्न तथा हिमाली क्षेत्रमा यसको असरबाट प्रभावित समुदायलाई सहयोग पुर्‍याउन रोटरी क्लब अफ काठमाडौँ मिडटाउनले आगामी जेठ ११ गते राजधानीमा विशेष च्यारिटी डिनर कार्यक्रम आयोजना गर्ने भएको छ ।

सोल्टी होटलमा आयोजना हुने उक्त डिनरको प्रमुख नारा ‘हिमालयन क्षेत्रमा जलवायु परिवर्तनका लागि प्रतिकार्य’ रहेको छ । क्लबकी अध्यक्ष रुपी सिंहले जलवायु परिवर्तनको असर नेपाल जस्ता हिमाली देशहरूमा तीव्र रूपमा देखिन थालेको चर्चा गर्दै यसप्रति सचेतना फैलाउने कार्य सबैको जिम्मेवारी भएको बताएकी छिन् ।

‘जलवायु परिवर्तनसँग जुध्न समाजका सबै तहबाट पहल हुन आवश्यक छ,’ कार्यक्रमका बारेमा  जानकारी दिन शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले बताइन् । कुल २५० जना सहभागी हुने अपेक्षा गरिएको उक्त डिनर उक्त कार्यक्रममा जलवायु परिवर्तनसम्बन्धी जानकारीमूलक प्रस्तुतिहरू, भिडियो, प्रमुख वक्ताद्वारा मन्तव्य, साङ्गीतिक मनोरञ्जन तथा डिनरको समेत व्यवस्था गरिएको क्लबले जनाएको छ ।

क्लबकी सचिव कल्पना पराजुलीले क्लबको सक्रियतामा ‘प्राकृतिक प्रकोप प्रतिकार्य कोष’ स्थापना गरिएको र यो कोष मार्फत  हिमाली क्षेत्रका जलवायु परिवर्तनबाट प्रभावित, जोखिमयुक्त तथा आवश्यकतामा परेका समुदायलाई तत्काल राहत, सजगता र पूर्व तयारीका कामहरूमा सहयोग पुर्‍याइने बताइन् ।

पत्रकार सम्मेलनमा  कृष्ण बेलबासेले पछिल्ला वर्षमा हिमालय क्षेत्रमा हिउँ पग्लने क्रममा तीव्रता आएको र यसले तल्लो तटीय क्षेत्रमा जलस्रोत, कृषि, वातावरण र जनजीवनमा गम्भीर असर पारिरहेको बताए । नेपालले गर्ने कार्बन उत्सर्जन अत्यन्त न्यून भए पनि, जलवायु परिवर्तनका प्रभावका हिसाबले नेपाल विश्वमा अग्र सुचीमा पर्ने उनको भनाई थियो ।  ‘हिमालका हिउँ पग्लिनाले बाढी, हिउँताल विस्फोट,  बाढी र पहिरोको खतरा बढेको छ,  कृषिमा पनि प्रतिकूल प्रभाव देखिन थालेको छ,’ उनको भनाई थियो ।

डा बेलबासेले सरकारको नीतिगत प्रयाससँगै नागरिक स्तरको सचेतता, पूर्व तयारी र सहकार्य पनि उत्तिकै आवश्यक रहेको बताए ।

च्यारिटी डिनरमा सहभागी हुन चाहनेले रोटरी क्लब अफ काठमाडौं मिडटाउनको वेबसाइट वा क्लबको आधिकारिक इमेलमार्फत सम्पर्क गर्न सक्ने बताइएको छ ।

क्लबले यस्तो कार्यक्रमले दीर्घकालीन रूपमा वातावरणीय संरक्षण, जलवायु शिक्षाको प्रवर्द्धन तथा प्रभावित समुदायको सशक्तीकरणमा योगदान पुर्‍याइने बताएको छ । 

प्रकाशित: २६ वैशाख २०८२ १५:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App