विश्वमा बढ्दै गएको स्वास्थ्य क्षेत्र सुधारले मानिसहरूको बाँच्ने उमेर वृद्धि हुँदै गएको पाइएको छ। मानिसहरूको औषत आयुसन् १९९० मा औसतमा ६४.२ वर्ष रहेकोमा सन् २०१९ मा बढेर ७२.६ वर्ष पुगेको छ। योक्रम अझै बढ्दै जाने र सन् २०५० सम्म पुग्दा ७७.१ वर्ष पुग्ने पूर्वानुमान गरिएको राष्ट्रिय तथ्यांक कार्यालयको जनगणनाको प्राप्त नतिजाको विश्लेषणले देखाउँछ।
यस अवधिमा समान्यभन्दा अत्याधिक प्रगति भएको देखिएको भए पनि असमानताहरू अझै कायमै छन्। यस्ता असमानताहरू अल्पविकसित देशहरूमा बढी देखिएको कार्यालयका निर्देशक विनोदशरण आचार्यले बताए। निर्देशक आचार्यले जनगणना ०७८को विश्लेषणात्मक तथ्यांकको नतिजाले नेपालको सन्दर्भमा अगामी केही वर्षभित्र नेपाल पनि एक बुढ्यौलीको समाजसमा रुपान्तरण हुने संकेत तथ्यांकले गरेको बताए।
‘सन् २०५० सम्म विश्वभरि प्रत्येक ६ जनामा एक जना बुढ्यौली जनसंख्या अर्थात् ६५ वर्ष र सो भन्दा माथिका हुने अनुमान गरिएको छ,’ निर्देशक आचार्यले भने, ‘यस्तो अवस्था उत्तर अमेरिका, पश्चिमी एसिया र ल्याटिन अमेरिकामा बुढ्यौली जनसंख्याको वृद्धिको गति तीव्र हुनुको साथै सय वर्षसम्म बाँच्ने व्यक्तिहरूको संख्या तीन गुणाले बढ्ने अनुगमान गरिएको छ।’
वृद्धाहरू एक्लै बस्ने नयाँ चुनौती थपिँदै
मुलुकमा पछिल्ला केही वर्ष एक्लै हुने वा बस्न रुचाउने वृद्धवृद्धाको संख्या पनि बढ्दै गएको छ। धेरैजसो वृद्धहरू परिवारका सदस्यसँग बस्ने प्रवृति भए पनि एक्लै वा केवल आफ्ना श्रीमान्/श्रीमतीसँग बस्ने वृद्ध व्यक्तिहरूको संख्या बढेको हो। तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले भने,‘६० वर्ष माथिका वृद्धहरू ७ प्रतिशत गाउँमा एक्लै बसेका छन्, भने श्रीमान्/श्रीमतीसँग मात्र बसेका १९ प्रतिशत छन्। अर्थात् कुल २६ प्रतिशत वृद्धहरू कित एक्लै बसेका छन् कि त श्रीमान/श्रीमतीसँग बसेका छन्।’ उनले थपे,‘अझै ५१ प्रतिशत जनसङ्ख्या भने आर्थिक रुपमा सक्रिय देखिन्छ। ती मध्ये अधिकांश कृषि क्षेत्रमा आवद्ध छन्। वृद्धहरू एक्लै हुनु राज्यको लागि ठूलो चुनौती हो। अब राज्यले यस्ता वृद्धका लागि केयर सेन्टर, स्वास्थ्य बिमा, भरणपोषण लगायतको सेवासुविधा उपलब्ध गराएर केयरको जिम्मेवारी लिनु पर्छ।’
बुढ्यौली समाजमा रुपान्तरण हुँदै गर्दा भरणपोषण मुख्य चुनौती
जन्मदर र मृत्युदर घटिरहेको अवस्था सँगैसँगै नेपालको जनसङ्ख्या पनि संक्रमणकालतर्फ तीब्र गतिले प्रवेश गरिरहेको छ। ६० वर्ष र सोभन्दा माथिको उमेर समूहको जनसङ्ख्या ०६८ सालको ८.१ प्रतिशतबाट ०७८ सालमा १०.२ प्रतिशतमा बढेको छ। ‘जसले विसं २१११ सम्ममा नेपाल एक बुढ्यौली समाजमा रुपान्तरण हुने अनुमान गरिएको छ,’ निर्देशक आचार्यले नागरिकसँग भने,‘यसले अबका दिनहरूमा आवास व्यवस्था, स्वास्थ्य हेरचाह, समाजिक सुरक्षा र आर्थिक भरणपोषणमा विशेष चुनौती सिर्जना गर्नेछ।’ उनले थपे,‘सरकारको स्वास्थ्यमा लगानीको प्रतिफल देखियो तर १४ वर्ष मुनिका जनसंख्या घट्दै जानु र ६० वर्षको जनसंख्या बढ्दै जानुले वृद्धाहरूको भरणपोषणमा काम गर्ने जनशक्तिको जिम्मेवारीमा पर्नेछ। जुन ठूलो चुनौती हो। यसलाई राज्यले आफ्नो नीति तथा कार्यक्रमबाट व्यवस्थापन गर्न जोड दिनु पर्छ।’
पहाडी क्षेत्रमा बुढौली जनसंख्या बढी
नेपालमा वृद्धहरूको जनसङ्ख्या २०४८ सालदेखि तीन गुणाले बढेको छ। भौगोलिक क्षेत्र र प्रदेशगत तहमा पनि वृद्ध जनसंख्याको वितरण विसं २०६८ र ०७८ को जनगणनाले केही भिन्नताहरू देखाएका छन्। यी दुई गणना अवधिका बीचमा पहाडी क्षेत्रको बुढ्यौली जनसंख्या उल्लेख्य वृद्धि भएको देखिन्छ। २०६८ सालमा बुढ्यौली जनसंख्या पहाडमा २५.७ प्रतिशत रहेकोमा १० वर्षपछि ०७८ को गणनामा ४३.६ प्रतिशत पुगेको छ। प्रदेशगत रुपमा हेर्दा बागमती प्रदेशमा सर्वाधिक रहेको तथ्यांकले उजागर गरेको प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीले बताए।
‘यो प्रवृतिलाई हिमाली र तराई क्षेत्रले पनि निकटम दरका साथ पछाएको देखिन्छ। तथापी तराईको तुलनामा पहाड र हिमाली क्षेत्रले बुढ्यौली जनसंख्याको तीव्रतर वृद्धिदरलाई प्रस्तुत गरेको छ,’ प्रमुख बुर्लाकोटीले भने,‘सहरी क्षेत्रले युवा पिंडीलाई बसाइसराइका लागि आकिर्षत गर्छ जसले ग्रामीण क्षेत्रको तुलनामा बुढ्यौली जनसंख्या सहरमा कम अनुपातमा रहेको देखिन्छ।’ उनले थपे, ‘यति हुँदाहुँदै पनि बुढ्यौली सूचकांक २०६८ सालदेखि ०७८ सालसम्ममा करिब १३ प्रतिशत विन्दुले सहरी क्षेत्र र ग्रामीण क्षेत्र दुबैतर्फ वृद्धि भएको देखिन्छ।’
मधेशमा आश्रित जनङ्ख्या बढी
राष्ट्रियस्तरमा कुल आश्रित अनुपात ६१.४ प्रतिशत छ। प्रदेश तहमा हेर्दा आश्रित जनसंख्या अझै बढी देखिन्छ। मधेश प्रदेशमा आश्रित जनसंख्या ७३.४ प्रतिशत छ। दोस्रो स्थानमा कर्णाली ६९.७ प्रतिशत र सुदूरपश्चिमा ६७.९ प्रतिशत आश्रित जनसङ्ख्या रहेको तथ्यांकले देखाएको छ।
प्रकाशित: २६ वैशाख २०८२ १३:५५ शुक्रबार





