२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
समाज

इजरायली सञ्चार माध्यम भन्छन् : विपिन जोशी जीवित रहेको प्रमाण अझै भेटिएन

इजरायल-हमास युद्धमा झण्डै दुई वर्षदेखि बेपत्ता भएका नेपालका विपिन जोशी जीवितै रहेकोमा इजरायली अधिकारीहरूले नै आशंका व्यक्त गरेका छन्। उनीहरूले विपिन जीवितै रहेको प्रमाण नभेटिएको भन्दै आशंका व्यक्त गरेको द टाईम्स अफ इजरायलमा प्रकाशित समाचारमा उल्लेख छ।

'युद्ध सुरु भएको केही समयपछिदेखि तीन जना बन्धकहरू जीवित भएको कुनै संकेत प्राप्त भएको छैन,' समाचारका अनुसार एक अधिकारीले भनेका छन्, 'दुई जना विदेशी नागरिक हुन् र एक जना इजरायली हुन्।'

ती अधिकारीका अनुसार जीवितको कुनै संकेत नपाएको भए पनि यी दुई विदेशी बन्धकहरूलाई आधिकारिक रूपमा मृत घोषित भने गरिएको छैन। यसरी जीवितै रहेको प्रमाण नभेटिनेमा नेपालका विपिन जोशी र थाइल्याण्डका पिन्टा नट्टापोङ रहेको समाचारमा भनिएको छ।

हिजो (बुधबार) मात्र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इजरायलले २१ जना बन्धक जिउँदै रहेको बताउँदै तीन जना बन्धक जीवितै रहेकोमा आशंका रहेको जानकारी दिएका थिए।

यी तीन जना जिवित भएको प्रमाण नभेटिएको कुराको जानकारी उनीहरूका परिवारलाई पनि जानकारी गराइएको टाईम्स अफ इजरायलले लेखेको छ।

'बन्धक बनाइएका परिवारहरूलाई उनीहरूका प्रियजनहरूको अवस्थाको बारेमा निरन्तर र पूर्ण रूपमा अद्यावधिक गरिन्छ,' अधिकारी भन्छन्, 'सबै महत्वपूर्ण जानकारीहरू बन्धक बनाइएका परिवारहरूलाई पुर्‍याइन्छ।'

'इजरायली बन्धकहरूको परिवारलाई जसरी सहयोग गरिन्छ, त्यसरी नै उनीहरूका परिवारहरूलाई इजरायलले सहयोग गर्छ,' उनले भने।

हमासले अझै पनि ५९ जनालाई बन्धक बनाएको छ। यीमध्ये ३५ जनाको मृत्यु भइसकेको छ, जसमा तीन जना  विदेशी नागरिक रहेको समाचारमा उल्लेख छ।

यो पनि पढ्नुहोस्

इजरायली पर्यटक भन्छन् : विपिन हाम्रो मनमा छन्

प्रकाशित: २६ वैशाख २०८२ ०८:३० शुक्रबार

#Bipin Joshi #Hamas-Israel War