१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

सीमा क्षेत्रमा ४८ घण्टामा ३१२ गस्ती र १८ सय चेकप्वाइन्ट

पछिल्ला दिनमा क्षेत्रीय सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रमा सुरक्षा सक्रियता तीव्र बनाएको छ।

पछिल्लो ४८ घण्टामा मात्रै ३१२ वटा गस्ती (पट्रोल) र १,८४४ स्थानमा चेकप्वाइन्ट स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बैशाख २३ गते मंगलबार बिहानदेखि २५ गते बिहीबार बिहानसम्म सीमाक्षेत्रमा भारतीय समकक्ष सशस्त्र सीमा बल (एसएसबी) सँगको समन्वयमा ८४ वटा संयुक्त र २२८ वटा एकल गस्ती गरिएको हो।

संयुक्त गस्ती बैशाख २३ मा २० वटा, २४ मा १६ वटा र २५ मा ४८ वटा सञ्चालन गरिएको थियो। त्यस्तै, एकल गस्ती बैशाख २३ मा ८९, २४ मा ६४ र २५ मा ७५ वटा गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सोही अवधिमा सीमा क्षेत्रका १,८४४ ठाउँमा चेकप्वाइन्ट राखिएको छ। तीमध्ये बैशाख २३ मा ५६४, २४ मा ६४० र २५ मा ६४० स्थानमा चेकिङ गरिएको हो।

सीमा निगरानीका लागि सशस्त्र प्रहरी बलका विभिन्न बाहिनी मुख्यालयअन्तर्गत १० हजारभन्दा बढी जनशक्ति परिचालन गरिएको छ।

परिचालन हुने मुख्यालयहरूमा नं. १ बराह बाहिनी (सुनसरी), नं. २ छिन्नमस्ता बाहिनी (महोत्तरी), नं. ३ गढीमाई बाहिनी (मकवानपुर), नं. ४ मुक्तिनाथ बाहिनी (कास्की), नं. ५ विन्ध्यवासिनी बाहिनी (रुपन्देही) र नं. ७ वैद्यनाथ बाहिनी (कैलाली) रहेका छन्।

सीमामा गस्ती र चेकजाँच निरन्तर जारी राखिएको छ। सशस्त्र प्रहरीले नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि र सर्वसाधारणसँग समन्वय गरी सूचनाको आदान–प्रदान गर्दै सीमामा हुने आवतजावतमा कडाइ गरेको जनाएको छ।

तर, नेपाल–भारतबिचको परम्परागत आवतजावतलाई असहज नहोस् भन्ने उद्देश्यले त्यसमा सहजता ल्याउने काम पनि समवेत रूपमा भइरहेको सशस्त्र प्रहरीले स्पष्ट पारेको छ।

यससँगै सहरी क्षेत्रमा पनि सम्भावित संवेदनशील स्थानहरूमा सुरक्षा निगरानी थप कडा बनाइएको छ।

प्रकाशित: २५ वैशाख २०८२ १६:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App