भक्तपुरको चाँगुनारायण नगरपालिका–८, ताथलीमा तीन सवारीसाधन आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार च्यामासिंहबाट नालातर्फ जाँदै गरेको बा.९१ प.८४१२ नम्बरको मोटरसाइकलले विपरीत दिशाबाट आइरहेको प्रदेश ३–०२–०१४ प.५०४३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
त्यही क्रममा नालाबाट च्यामासिंहतर्फ आइरहेको बा.प्र.०२–०३६ प.५३२७ नम्बरको अर्को मोटरसाइकल आफैं अनियन्त्रित भई स्कुटरमा ठोक्किएको थियो।
दुर्घटनामा परी स्कुटर चालक चाँगुनारायण नगरपालिका–९, सुडालका १७ वर्षीय रिजन फुयाजुको गम्भीर घाइते अवस्थामा मध्यपुर ठिमी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक भारत घर भई हाल काभ्रेपलाञ्चोकको बनेपामा बसोबास गर्ने २४ वर्षीय ईजार आलम र सम्बन्धित सवारी साधनहरू प्रहरी वृत्त जगातीको नियन्त्रणमा छन्।
यस्तै, अर्को मोटरसाइकल चालक नुवाकोटको शिवपुरी गाउँपालिका–२ घर भई हाल काठमाडौं गोकर्णेश्वरमा बस्ने ४० वर्षीय बिरे तामाङ घाइते भएका छन्। उनको च्यामासिंहस्थित ख्वप अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।
प्रकाशित: २५ वैशाख २०८२ १६:३७ बिहीबार





