नेपाली भाषा बोल्नेहरुको संख्या पछिल्लो समय बढ्दै गएको तथ्यांकले देखाएको छ । पछिल्लो दुई दशक नेपालमा दोस्रो भाषाको रुपमा नेपाली भाषाको प्रयोगमा उल्लेख्य वृद्धि भएको हो । राष्ट्रिय जनगणना ०५८ का अनुसार दोस्रो भाषाको रुपमा नेपाली बोल्ने २५.२ प्रतिशत थियो भने जनगणना ०६८ मा यो प्रतिशत बढेर ३२.८ पुगेको थियो । तर पछिलो जनगणना ०७८ मा नेपाली भाषा बोल्नेहरुको संख्या ४६.२ प्रतिशत पुगेको हो । ०५८ पछिको दुई दशकमा नेपाली भाषा बोल्नेको संख्यामा २१ प्रतिशतले वृद्धि भएको पाइएको हो । दोस्रो भाषाको रुपमा नेपाली बोल्नेहरुको संख्या सबैभन्दा बढी मधेश प्रदेशमा र सबैभन्दा कम कर्णाली प्रदेशमा रहेको तथ्यांकमा उल्लेख छ ।
नेपालमा पछिल्लो समय १२४ मातृ भाषा रहेको देखाएपनि ११७ समुदायले दोस्रो भाषा बोल्ने गरेको पाइएको हो । पुर्खाको भाषा भने मातृ भाषाकै रुपमा प्रयोग हुने गरेको हो ।
प्रमुख तथ्यांक अधिकारी मधुसुदन बुर्लाकोटीका अनुसार धेरै जनसङ्ख्याले नेपाली भाषालाई कि मातृभाषाका रुपमा कि त दोस्रो भाषाका रुपमा बोल्ने गरेको पाइएको छ । ‘मुख्य रुपमा दुई अलग भाषाको पुलको रुपमा नेपाली भाषा प्रयोग गरिने भएकोले नेपाली भाषा बोल्नेहरु बढ्दै गएको हो,’ बुर्लाकोटीले भने,‘साथै पेसा व्यवसाय, कामकाजी र लोकसेवा आयोगमा समेत नेपाली भाषाको प्रयोग हुने भएकोले यसको प्रयोग बढ्दै गएको हो ।’
मातृ भाषा र दोस्रो भाषाका रुपमा बोलिने नेपाली भाषालाई समग्रतामा हेर्ने हो भने मधेश प्रदेश बाहेक सबै प्रदेशमा यस्को हिस्सा ९० प्रतिशत छ । मधेश प्रदेशमा भने ७६.५ प्रतिशत पाइएको छ । जनगणना ०७८ अनुसार मातृ भाषाको रुपमा नेपाली कम बोलिए पनि दोस्रो भाषाको रुपमा बढी बोलेको पाइन्छ । ‘पछिलो समय पहिचानको मुद्दाहरु धेरै उठे । यसकारण धेरै भाषाहरुको पहिचान भयो,’ तथ्यांक अधिकारी बुर्लाकोटीले नागरिकसँग भने, ‘पुर्खाको भाषानै मातृ भाषा रहेको पाइयो । यसकारण पुर्खाको भाषा बोल्नेहरु १२४ थरिनै रहे ।’
नेपालमा मातृभाषाका साथै दोस्रो भाषा नेपाली बोल्नेको घनत्व विशेष गरी गण्डकी प्रदेशको पश्चिमी भाग लुम्बिनी प्रदेशसँग जोडिएको क्षेत्र र कर्णाली प्रदेशका सबै जिल्लाहरु अधिकतम देखिएको निर्देशक आचार्यले बताए ।
मधेश प्रदेशमा संचारको प्रमुख भाषा नेपाली
मधेश प्रदेशका सबै जिल्लामा दुई वा सोभन्दा बढी भाषा बोल्ने दर उच्च पइएको छ । मैथली, भोजपुरी र बज्जिका लगायत भाषा बोल्ने बहुसङ्ख्यक व्यक्तिले विभिन्न मातृभाषा भएका समुदायसँग कुरा गर्न नेपाली भाषाको प्रयोग गर्ने गरेका हुन् । पछिल्लो दुई दशकमा द्विभाषिक जनसंख्या पनि बढेको छ । मधेशमा द्विभाषिक दर सबैभन्दा उच्च ५६.० प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ५१.९ प्रतिशत रहेको तथ्यांकमा उल्लेख छ ।
‘मधेश प्रदेशमा द्विभाषिकता तथा बहुभाषिकताको दर उच्च हुनुको मुख्य कारण मैथली, भोजपुरी र बज्जिका बोल्नेको ठूलो जनसङ्ख्याले दोस्रो भाषाका रुपमा नेपाली भाषालाई प्रयोग गर्नु नै हो,’ तथ्यांक अधिकारी बुर्लाकोटीले भने,‘सबैभन्दा कम द्विभाषिक दर कर्णाली प्रदेशमा छ ।’
३५९ स्थानीय तहमा आधाभन्दा बढी जनसंख्या नेपाली भाषा बोल्ने
कुल ७५३ स्थानीयमध्ये ३५९ स्थानीय तहका आधा बढी जनसंख्याले नेपाली भाषा बोल्ने गरेका छन् । थप ७० वटा स्थानीय तहमा अधिकतमले नेपाली भाषा बोल्छन् । बाँकी ३२४ स्थानीय तहमा अन्य भाषाहरु प्नि बढी नै बोलिने गरेको तथ्यांक छ ।
एक लाख बढीले बोल्छन् २१ थरीका भाषा
पुर्खाको भाषा प्रयोगसम्बन्धी प्रश्न पहिलो पटक २०७८ सालको जनगणनामा समावेश थियो । कार्यालयका निर्देशक विनोदशरण आचार्यका अनुसार यो प्रश्न भाषाको प्रवीणता मापनका लागि नभएर व्यक्तिहरुको पूर्वजले बोल्ने भाषाको पहिचानलक्षित थियो। जनगणनाको नतिजामा धेरैजसो अवस्थामा पुर्खाको भाषाको दरभन्दा मातृ भाषाको रुपमा उत्तरदाताहरुले उल्लेख गरेका भाषाहरुको दर उच्च रहेको उनले जनाए ।
‘जनगणनाको नतिजाले नेपालमा १ लाख बढी जनसंख्याले बोल्ने भाषा कुल २१ वटा पाइयो । यी भाषाले कुल जनसङ्ख्याको ९५ प्रतिशत हिस्सा ओगटेका छन्,’निर्देशक आचार्यले भने,‘यसको विपरित बोल्ने व्यक्तिहरुको संख्याका आधारमा सूचीको तल्लो खण्डमा रहेको भाषाको संख्या १०३ वटा छन् जसले कुल जनसङ्ख्यको ५ प्रतिशत हिस्सा ओगटेका छन् ।’ उनले थपे,‘यसकारण मातृ भाषाको संख्यामा विविधता भएपनि तिनको जनसाङ्खकि हिस्सा असमान पाइएको छ ।’
सम्पन्न परिवारमा नेपाली बोल्ने उच्च
कुनै परिवार जति धेरै सम्पन्न हुन्छ, नेपाली बोल्ने संभावना त्यतिनै उच्च हुने जनगणनाको तथ्यांक विश्लेषणबाट देखिएको छ । सम्पन्न परिवारमा नेपाली बोल्ने सम्भावना २.५ देखि ३ गुणासम्म हुने गरेको पाइएको छ । बढी देखिएको छ । यसेगरी, सबैभन्दा सम्पन्न जनसङ्ख्याको नेपाली बोल्ने सम्भावना तीन गुणाभन्दा बढी छ । साथै निरक्षर जनसङ्ख्यामा भने दोस्रो भाषाभन्दा आफ्नो मातृ भाषाको प्रयोग बढी रहेको पाइएको छ ।
प्रकाशित: २५ वैशाख २०८२ १३:५६ बिहीबार





-600x400.jpg)