३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
समाज

जोखिममा निलबाराही मन्दिर: प्लास्टिक ओढाएर पहिरो रोक्ने प्रयास !

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९ स्थित ऐतिहासिक निलबाराही मन्दिर एक दशकदेखि पहिरोको उच्च जोखिममा परेको छ।

काठमाडौं उपत्यकामा चार बाराहीमध्ये एक महत्वपूर्ण धार्मिक स्थलका रूपमा चिनिएको यो मन्दिर वर्षेनी झन् असुरक्षित बन्दै गएको हो।

वर्षा सुरु भएलगत्तै मन्दिर पहिरोमा पर्ने भयले स्थानीयहरु त्रसित हुने गरेका छन्। रोकथामका लागि प्लास्टिक ओढाएर पहिरो रोक्ने प्रयास गरिए पनि जोखिम कायमै छ।

विशेषगरी मन्दिरको दक्षिण–पश्चिम क्षेत्रमा पहिरोको दबाब बढ्दै गएको छ। पहिरोले बाटो साँघुरिँदा सवारीसाधन पुग्न नसक्ने अवस्थामा पुगेको छ। अहिले मन्दिरसम्म पुग्न झन्डै ३–४ सय मिटर पैदलै हिँड्नुपर्ने बाध्यता छ।

‘तीन जना मेयर फेरिए, तर कसैले पनि मन्दिर बचाउने ठोस पहल गरेनन्’, स्थानीय सांस्कृतिक अभियन्ता अनिश वैद्य भन्छन्, ‘हामी आफैंले अगुवाइ गरेर संरक्षण अभियान थालेका हौं।’

स्थानीय सरोकार र भक्तजनको भेलाले दिलकृष्ण राजबहाकको संयोजकत्वमा १३ सदस्यीय सरोकार समिति गठन गरेको छ। समितिले सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदै संरक्षणको पहल अघि बढाउने जनाएको छ।

‘म मन्दिर नजिकको बासिन्दा होइन तर पनि यसको महत्त्व बुझेर अभियानमा लागिएको हो,’ अभियन्ता सूर्य श्रेष्ठ भन्छन्, ‘मदनकृष्ण, मदनसुन्दर र सुरेन्द्र श्रेष्ठ तीनै जना मेयर भए तर कसैले पनि मन्दिर र पहिरो नियन्त्रणमा चासो दिएनन्।’

यता, नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले मन्दिर संरक्षणका लागि भएका प्रयासहरूको विस्तृत विवरण सार्वजनिक गरेका छन्। उनले भने, ‘२०७२ सालदेखि पहिरो गम्भीर बन्दै गएपछि हामीले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेका छौं।’

उनले वर्षातमा माटो बग्ने पश्चिमतर्फ सानु वनदेखि दुवाकोट मोडसम्म ढुंगाको बाल लगाइएको, ४ रोपनी सार्वजनिक जमिन अवैध भाडामा लगिएको पत्ता लागेपछि फिर्ता ल्याई संरक्षण गरिएको, उत्तर–पश्चिम क्षेत्रमा २ रोपनी १४ आना जमिनमा वाल लगाएर संरक्षण गरिएको, प्रधानमन्त्री, मन्त्रीहरू, योजना आयोगसम्म पहल गरेर आर्थिक वर्ष २०८०/८१ मा चक्रपथसहितको पहिरो नियन्त्रणका लागि १० करोड, विशेष पहिरो नियन्त्रणका लागि ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए।

तर स्थानीयको गुनासो भने फरक छ। उपप्रमुखको दाबी विपरीत अझै पनि मन्दिर क्षेत्रलाई प्लास्टिक ओढाएरै पहिरो रोक्ने काम भइरहेको छ। स्थानीयले संरचनात्मक समाधानको अभावमा प्लास्टिकको भरमा मन्दिर जोगाउनु परिरहेको बताउँछन्।

निलबाराही मन्दिर करिब ४०० रोपनी क्षेत्रफलमा फैलिएको वन क्षेत्रभित्र पर्छ। यो क्षेत्र धार्मिक, साँस्कृतिक र तान्त्रिक आस्थाको केन्द्र मानिन्छ।

पहिरो रोक्न सात वर्षअघि तत्कालीन मेयर मदनसुन्दर श्रेष्ठले नगरको फोहोर जंगलमा पुरी पहिरो नियन्त्रण गर्ने योजना ल्याएका थिए। तर धार्मिक आस्थाविरुद्ध जनताको असहमति भएपछि ‘निलबाराही इको पार्क’ परियोजना रद्द भएको थियो।

प्रत्येक वर्ष सर्भे हुने, बजेट छुट्याइने तर काम नगर्ने प्रवृत्तिविरुद्ध स्थानीयहरू आक्रोशित छन्। सोही कारण भक्तजनको भेलामार्फत सरोकार समिति गठन गरिएको हो।

भेलामा टिगनी, बोदे, नगदेश, चपाचो, बालकुमारी, भक्तपुर, ललितपुरलगायत क्षेत्रका भक्तजनको सहभागिता रहेको थियो।

प्रकाशित: २४ वैशाख २०८२ १७:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App