१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

खहरे खोलाको बाढीले छिनभरमै मकैबाली सखाप

बाँकेको राप्ती सोनारी–१ कुसुमस्थित बसेरी गाउँमा आएको खहरे खोलाको बाढी।

बाँकेको राप्ती सोनारी गाउँपालिका–१ कुसुमस्थित बसेरी गाउँमा खहरे खोलामा आएको बाढीले बेमौसमी मकै बालीमा ठूलो क्षति पुर्‍याएको छ।

मंगलबार बिहान चुरे क्षेत्रको वर्षाका कारण तिलकन्या र बसेरी खोलामा आएको बाढीले करिब ११ बिघा जमिनमा लगाइएको मकैबाली नष्ट भएको हो।

स्थानीय बासिन्दा गंगाधर खत्रीका अनुसार बाढीले गाउँका आधा दर्जनभन्दा बढी किसानको खेत डुबाएको छ।

खत्रीसहित दिलबहादुर ओली, वीर बहादुर ओली, श्यामलाल बि.क, ताराप्रसाद दसौती, रामबहादुर दसौती, दिलिपकुमार पौडेल र घनश्याम खड्काको बालीमा बाढीको प्रभाव परेको छ।

‘‘तिलकन्या र बसेरी खोलाको संगमस्थलमा बनाइएको कच्ची ड्याम बाढीले भत्काइदियो,’’ खत्रीले बताए, ‘‘खोलाले ल्याएको ढुंगा–गिट्टी र बालुवा मकैबारीमा छरिएको छ, हुर्कँदै गरेका मकै ढलेका छन्, खेतीयोग्य जमिन खोलामा परिणत भएको छ।’’

खहरे खोलाले एक्कासि बाढी ल्याएकाले क्षति ठूलो भएको उनले बताए। घटनास्थलको निरीक्षण गर्न वडा अध्यक्ष यमबहादुर खड्का पुगेका थिए। उनले बाढीले ड्याम भत्काइ किसानको बालीमा क्षति पुर्‍याएको बताए।

‘‘दुवै खोलामा आएको आकस्मिक बाढी सिधै खेतमा पसेको हो,’’ उनले भने, ‘‘पहिले बनाइएको कच्ची तटबन्ध पनि बगाइसकेको छ, यस क्षेत्रका लागि चालु आर्थिक वर्षको बजेटबाट ठेक्का परिसकेको छ, तर ठेकेदारले काम सुरु गर्नुअघि नै बाढी आयो।’’

वडाले यस वर्ष तटबन्ध निर्माणका लागि १ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको भए पनि स्थानीयले यो रकम पर्याप्त नभएको बताएका छन्। वडा अध्यक्ष खड्काले करिब ४ लाख रुपैयाँ बजेट आवश्यक पर्ने बताए।

‘‘वर्षेनी सीमित बजेटमै ड्याम मर्मत गर्दै आएका छौं,’’ उनले भने, ‘‘स्थायी र प्रभावकारी तटबन्ध बनाउनका लागि दीर्घकालीन योजना र बढी बजेट आवश्यक पर्छ।’’

प्रकाशित: २३ वैशाख २०८२ २१:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App