२ नीलगाई मारेको आरोपमा पक्राउ परेका सिकारी विरुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु तथा संरक्षण ऐन २०२९ अनुसार मुद्दा चलाइएको छ ।
शिवराज नगरपालिका वडा नम्बर २ हरौहवाका ५२ वर्षीय फरहान खानलाई पक्राउ पुजी जारी गरी अदालतबाट अनुसन्धानका लागि ५ दिनको म्याद लिइएको डिभिजन वन कार्यालय गौतमबुद्धका प्रमुख राजु क्षेत्रीले बताए ।
घटनाको अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको उनले बताए । स्थानीयले गोली पडकेको आवाज सुने पछि आईतवार मध्यरातमा प्रहरीलाई खबर गरेको थिए । प्रहरीले महाराजगंज नगरपालिका वडा नम्बर ६ सानो बुटहनिया स्थित उखु बारीमा २ वटा भोले जातको नीलगाई मरेको अवस्थामा फेला परेको थियो । सोही स्थानमा ६ राउन्ड गोली ४ थान खोका, चक्कु र अन्य सामाग्री पनि बरामद गरेको थियो ।
यस्तै बा. १७ च ८९० नम्बरको हाइलक्स गाडी, यूपी ५५ आर ६१७६ नम्बरको पीकअप, लु.५० प ४१२ नम्बरको मोटरसाइकल तथा एक भारतीय मोटरसाइकल समेत बरामद भएको थियो । प्रहरीले आइतबार मृत अवस्थामा फेला परेको निलागाई, गोली, गाडीहरू सहित पक्राउ परेको खालाई डिभिजन वन कार्यालय चन्द्रौटालाई बुझाएको थियो । मारिएको नीलगाईको पोस्टमार्टम समेत भई सकेको र घटनास्थलको मुचुल्का समेत उठाउने काम जारी रहेको क्षेत्रीले बताए । पक्राउ परेको खानलाई छुटाउन डिभिजन वन प्रमुख क्षेत्रीलाई ठुलो दबाब आएको श्रोतले जनाएको छ । खाको समर्थकहरूको दिनभरि नै डिभिजन वन कार्यालयमा ठुलो संख्यामा भीड लागेको स्थानीयले बताए ।
बरामद भएका गोलीका विषयका अनुसन्धान र आवश्यक कारबाहीका लागि प्रहरीलाई नै बुझाउने क्षेत्रीले बताए । नीलगाई मार्न ठुलो गिरोह नै रहे पनि खा मात्र पक्राउ परेका छन् । अरु भने भारत र अन्य स्थानमा फरार भएका छन् ।
प्रकाशित: २२ वैशाख २०८२ १३:१६ सोमबार