रौतहटमा आज बिहान कार र मोटरसाइकल एक आपसमा ठोक्किएर भएको सवारी दुर्घटनामा बाबुछोरीको ज्यान गएको छ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने रौतहटको चन्द्रपुर नगरपालिका ४ पश्चिम लचकामा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको कार र पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किएर भएको सवारी दुर्घटनामा मोटरसाइकलमा सवार बाबुछोरीको ज्यान गएको हो।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक जिल्ला रौतहट गरुडा न.पा.३ गेडही टोल बस्ने अन्दाजी वर्ष ६० का बलिराम सहनि र सोही मोटरसाइकलमा पछाडि सवार छोरी वर्ष ४० की उर्मिला देवी सहनिको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले कार चालक हेटौंडा उपमहानगरपालिका १२ का ४३ वर्षीय कुमार पोख्रेललाई नियन्त्रणमा लिएको इप्रका चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राइले बताए। घटनाबारे अनुसन्धान भइरहेको र मृतकको शव पोस्टमार्टमका लागि सरकारी अस्पतालमा राखिएको डिएसपी राइले बताए।
प्रकाशित: २१ वैशाख २०८२ १२:१७ आइतबार





