जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य डा. बबी सिंह यादवले सर्लाहीको हल्दी–मेहेन्दी कार्यक्रममा पेस्तोल पड्काएको भाइरल भिडियोबारे प्रहरीसमक्ष ‘खेलाैना पेस्तोल रमाइलोका लागि पड्काएको’ बयान दिएकी छन्।
सप्तरी प्रहरीले उनलाई सोधपुछपछि छाडेको छ। उनले ११ वैशाखमा सर्लाहीको मलंगवा नगरपालिका–५, भाँड्चौरमा वसन्त कुमारकी छोरी कोमल सुप्रियाको हल्दी–मेहेन्दी कार्यक्रममा ‘रेन्जर टोइ’ नामक खेलौना पेस्तोल पड्काएको बताएकी छन्।
“यो नितान्त पारिवारिक समारोह थियो। भाइबहिनीको आग्रहमा नाच्दा खेलौना पेस्तोल पड्काएँ। भिडियोलाई अतिरञ्जित बनाइयो,” उनले भनेकी छन्।
भिडियो भाइरल भएपछि सप्तरीले प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको थियो। सप्तरीका डिएसपी जितेन्द्र बस्नेतले भने, “उहाँले खेलौना बन्दुक पड्काएको बयान दिनुभयो। घटना सर्लाहीको भएकाले थप अनुसन्धान त्यहाँबाट हुन्छ। उहाँलाई सोधपुछपछि छाडिएको छ।”
बबीको बयानका आधारमा सर्लाही प्रहरीले मलंगवा नगरपालिका–२ का अञ्जनी कुमारको घरबाट पेस्तोल बरामद गरेको छ।
सर्लाहीका डिएसपी सरोज राईले बरामद पेस्तोल बारुद मात्र पड्किने नक्कली खालको देखिएको र थप परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाउने बताए।
बबीले सुरुमा घटना भारतको सीतामढीमा भएको दाबी गरेकी थिइन्। तर प्रहरी अनुसन्धानले घटना सर्लाहीमै भएको पुष्टि भएको छ।
उनले भिडियो अनुमतिबिना भाइरल बनाएर प्रेस आचारसंहिताको उल्लंघन भएको भन्दै आपत्ति समेत जनाएकी छन्। “महिलाले रमाइलो गर्दा पितृसत्तात्मक मानसिकताले आलोचना गर्छ। यो सोचप्रति खेद छ,” उनले सामाजिक सञ्जालमा लेखेकी छन्।
सप्तरीको बोदे बरसाइन नगरपालिका–५ घर भएकी बबी जसपा उपाध्यक्ष, राष्ट्रिय सभा सदस्य तथा पूर्वमन्त्री मृगेन्द्र सिंह यादवकी छोरी हुन्।
प्रकाशित: १८ वैशाख २०८२ १९:५९ बिहीबार





