मोरङको धनपालथानका एक जना युवक बुधबार बिहान नालामा मृत अवस्थामा फेला परेका छन् ।
धनपालथान गाउँपालिका–२ का ३७ वर्षीय विजय मण्डल मृत फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मदन केसीले जानकारी दिए । उनका अनुसार सोही ठाउँको ललिया टोलको नालामा मृत अवस्था मण्डलको शव भेटिएको हो ।
स्थानीयले बिहान सवा ६ बजेतिर नालाभित्र मान्छे देखेपछि प्रहरीलाई खबर गरेका थिए । सडकदेखि करिब ३ मिटर तल नालामा मण्डल मृत भेटिएको बताउँदै, डिएसपी केसीले भने, ‘मण्डलको बाहिरी शरीरको भागमा शंकास्पद त्यस्तो केही नदेखिएको हुँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा नालाबाट निस्कन नसकेपछि मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।’
उनको शव नजिककै उनले चलाउँदै आएको को २१ प १६५६ नम्बरको मोटरसाइकल पनि भेटिएको छ । शवको पोस्टमार्टमको रिपोर्ट आएपछि थप कुरा आउने डिएसपीले बताए ।
शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पताल लगिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
प्रकाशित: १७ वैशाख २०८२ १४:१४ बुधबार





