ताप्लेजुङको फुङलिङ नगरपालिका–१०, फुरुम्बुमा आइतबार अपराह्न आएको हावाहुरीले तीन घरमा क्षति पुगेको छ। हावाहुरीका कारण विद्युतका पोलहरू ढलेर विद्युत प्रसारण अवरुद्ध भएको छ भने रुखहरू पनि ढलेका छन्।
वडाध्यक्ष सन्तोष नुगो लिम्बूका अनुसार फुरुम्बु मयामका मानबहादुर लिम्बूको घर, धनबहादुर लिम्बूको भान्छा घर र सुरबहादुर खत्रीको कटेरोको छाना हावाहुरीले उडाएको हो। वडाका विभिन्न क्षेत्रमा विद्युत पोलहरू ढलेका कारण विद्युत आपूर्ति बन्द भएको छ।
“हावाहुरीले रुखहरू ढालेको र विद्युत प्रसारण लाइनमा क्षति पुगेको छ,” वडाध्यक्ष लिम्बूले भने। प्रभावित क्षेत्रमा विद्युत सेवा पुनःस्थापना र क्षतिको विवरण संकलनको काम भइरहेको छ।
प्रकाशित: १४ वैशाख २०८२ १७:२६ आइतबार