२६ वैशाख २०८३ शनिबार
image/svg+xml
समाज

मुस्ताङमा जलवायु संकट : खानेपानी मुहान सुक्दै, कृषि-पशुपालन प्रभावित

हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै गएका छन्। कृषि र पशुपालनमा जलवायु सङ्कटले विभिन्न समस्या र चुनौती किसानले झेल्नुपरेको छ।

जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रको तापमान बर्सेनि बढ्दा खानेपानी, कृषि र पशुपालनमा नकारात्मक प्रभाव देखिएको स्थानीयवासीले बताए। घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आयोजित पञ्चवर्षीय ऊर्जा सम्भावनासम्बन्धी छलफल र अन्तरक्रियामा जोमसोमका स्थानीयवासीले जलवायु परिवर्तनले खानेपानी, कृषि र पशुपालनमा प्रतिकूल असर पुगेको बताए। घरपझोङ र वारागुङ मुक्तिक्षेत्रमा जिआइजेट सङ्घले स्थानीय तहको पञ्चवर्षीय ऊर्जासम्बन्धी सर्वेक्षण गरिरहेको छ। सर्वेक्षणका क्रममा भएको छलफलमा जोमसोमका स्थानीयवासीले जलवायु सङ्कटले मुस्ताङको खानेपानी, कृषि, पशुपालन र जैविक विविधतामा असर पुर्‍याएको औँल्याए।

घरपझोङको जोमसोम बजारमा हिमस्रोत घट्दा खानेपानीको चरम समस्या देखिएको खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष दीपक शेरचनले बताए। जोमसोममा घरधुरीको सङ्ख्या बढ्दै गएको, व्यावसायिक क्षेत्र विस्तार भएको र सरकारी कार्यालय रहेकाले खानेपानीको उपयोग धेरै हुने भए पनि मुहान सुक्दा आवश्यकताअनुसार सेवा पुर्‍याउन नसकिएको उनले बताए। बजारको खानेपानी माग धान्न मुस्किल परेकाले वैकल्पिक उपाय अवलम्बन गर्नुपर्नेमा उनले जोड दिए।

जोमसोम बजारका लागि खानेपानी आपूर्तिमा तीनवटा हिमस्रोत भए पनि जलवायु सङ्कटका कारण तापक्रमको असरले स्रोत घट्दै गएको शेरचनले बताए। खानेपानी सेवा पुर्‍याउन जोमसोमको कुङ्ले लेंक र ठिनी १–२ को मुहान सुरक्षित भए पनि हिमस्रोत सुक्दा खानेपानी अभाव भएको छ।

‘व्यावसायिक क्षेत्र भएकाले खानेपानीको माग बढी छ,’ उनले भने, ‘पानीको स्रोत घट्दो छ, यसैले अन्य ऊर्जा सम्भावना खोजेर दीर्घकालीन समस्या समाधान गर्नुपर्ने आवश्यकता छ।’

हिमाली क्षेत्रको मुख्य फलफूल स्याउलगायत रैथाने बालीको व्यवस्थापन र मलजल गर्ने बेलामा हिउँ पर्न छाडेको र स्याउको फूल फुल्ने बेलामा निरन्तर वर्षा हुँदा स्याउ र अन्नबालीमा क्षति पुगेको घरपझोङ–४ का किसान राजेन्द्र शेरचनले बताए। अनुकूल मौसममा हिउँ नपर्नु र बेमौसममा हिउँ पर्दा फलफूल बगैंचामा फुल्दै गरेका फूल झर्ने तथा तापमान वृद्धिले स्याउ र अन्नबालीमा रोगकिराको सङ्क्रमण देखापर्दा उत्पादन र गुणस्तर खस्किएको उनले बताए। मौसम परिवर्तनले मुस्ताङमा कुनै वर्ष स्याउ राम्रो हुने र कुनै वर्ष कम हुने गरेको किसानले बताए।

घरपझोङका पशुपालक किसान भूपेन्द्र शेरचनले जलवायु परिवर्तनको असर पशुपालनमा देखिएको बताए। हिमाली उच्चलेंकमा हिउँ नपर्दा चरन क्षेत्रमा घाँस पलाउन छाडेको उनले बताए। ‘हिमस्रोत घट्दा उच्चलेंकमा याकचौँरीको व्यवस्थापनमा समस्या परेको छ, वन्यजन्तुको जोखिम पनि यसैले थपिएको छ,’ उनले भने। रासस

प्रकाशित: १४ वैशाख २०८२ ०८:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App