९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

आफन्तले अझै बुझेनन् कालिबहादुरको शव, क्षतिपूर्तिको मागसहित आन्दोलन

मृत्यु भएको हप्ता बित्दा पनि जुम्लाको हिमा गाउँपालिका-४ तलीकुडुका ५६ वर्षीय कालिबहादुर बुढाको शव आफन्तले बुझेका छैनन्। फोर्स गाडीको ठक्करले गत आइतबार मृत्यु भएका बुढाको शव अझै जलाइएको छैन। आफन्तले क्षतिपूर्ति नपाएको भन्दै शव बुझ्न र जलाउन मानेका छैनन्।  

आफन्तले सोमबार वीरेन्द्रनगरमा क्षतिपूर्तिको माग राख्दै आन्दोलन गरे। बारम्बार वार्ता भए पनि सहमति नहुँदा शुक्रबार वीरेन्द्रनगरको यरिचोक ठप्प पारियो। शान्तिपूर्ण आन्दोलनमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ छन्। रत्न राजमार्गको यरिचोक खण्डमा सडक यातायात बन्द गरिएको छ, तर प्रदेश अस्पताल–रातोपुल रुटमा सवारी सञ्चालन भइरहेको छ।  

आन्दोलन सङ्घर्ष समितिका संयोजक छत्रबहादुर शाहीले दुई माग राखेका छन्। ‘यो घटना होइन, हत्या हो, त्यसैले चालकलाई कारबाही हुनुपर्छ,’ उनले भने, ‘दोस्रो, उचित क्षतिपूर्ति पाउनुपर्छ।’ मङ्गलवार र बुधबार जिल्ला प्रहरी कार्यालयमा छलफल भए पनि गाडी व्यवसायीले कानुनी क्षतिपूर्तिबाहेक थप रकम दिन नमानेपछि आन्दोलन चर्किएको हो।  

गत वैशाख ७ गते वीरेन्द्रनगर सुर्खेतको रेडियो नेपाल अगाडि कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको मध्यपश्चिम यातायात प्रालिको गाडीले बुढालाई ठक्कर दिएको थियो। आइतबार बिहान साढे ६ बजे जुम्ला जान चोकमा निस्किएका बुढालाई विपरीत दिशाबाट आएको गाडीले ठक्कर दिएको थियो। सङ्घर्ष समितिका संयोजक शाहीले अस्पतालमा मृत्यु भएको भनिए पनि घटनास्थलमै मृत्यु भएको दाबी गरे। ‘हामीलाई झुक्काउन अस्पतालमा मरेको भनियो, त्यो सत्य होइन,’ उनले आक्रोश व्यक्त गरे।  

गाडी चालक दैलेख चामुण्डाबिन्द्रासैनी-१ का २४ वर्षीय तेज थामी मगरलाई प्रहरीले पक्राउ गरिसकेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले कानुनी प्रक्रिया अघि बढाइएको र कानुनअनुसार क्षतिपूर्ति उपलब्ध गराइने बताए। ‘तर, आफन्तले थप माग राखेका छन्, दुवै पक्षबीच सहमति नहुँदा समस्या भएको हो,’ उनले भने।  

शाहीले मध्यपश्चिम यातायात प्रालिको ‘दादागिरी’ अन्त्य गर्न र यस्ता घटना दोहोरिन नदिन आन्दोलन गरिएको बताए। माग सम्बोधन नभए आन्दोलन थप चर्काउने चेतावनी उनले दिए। जुम्ला–कालिकोट सिमानाको नाग्ममा पनि आन्दोलन भइरहेको छ। समितिले अटेरे मध्यपश्चिम यातायात प्रालिका सवारीलाई जुम्ला प्रवेशमा रोक लगाउने चेतावनी दिएको छ।  

घटनालाई लिएर राजनीतिकरण भएको आरोप लागेको छ। जुम्लाबाट निर्वाचित सांसद र नेताहरूले विज्ञप्ति जारी गर्दै घटनाप्रति धारणा राखेका छन्। नेपाली कांग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाहीले शान्तिपूर्ण आन्दोलनमाथि सत्ता र शक्तिको दुरुपयोग भएको भन्दै पीडितलाई थप मानसिक यातना दिएको बताए। कर्णालीका पूर्वमन्त्री तथा माओवादी केन्द्रका जुम्ला इन्चार्ज नरेश भण्डारीले दोषीलाई कारबाही र घटनाको सत्यतथ्य छानबिन गर्न माग गरे। सरकारले संवेदनशीलता देखाउनुपर्ने उनको भनाइ छ। माग कार्यान्वयनमा ढिलाइ भए सङ्घर्ष चर्कने उनले चेतावनी दिए।  

सांसद ज्ञानेन्द्र शाही, विनिता कठायत, प्रदेश सभा सदस्य टेकराज पछाईं र माओवादी केन्द्र कर्णाली अध्यक्ष विमला केसीले पनि पीडितको पक्षमा विज्ञप्ति जारी गरेका छन्। हिमा गाउँपालिकाले समेत विज्ञप्ति निकालेर पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ।  

प्रकाशित: १३ वैशाख २०८२ ०९:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App