मनाङमा पहिलो पटक सार्वजनिक बस सेवा सुरु गरिएको छ।
लमजुङको सदरमुकाम बेसीशहरदेखि मनाङको सदरमुकाम चामेसम्म आइतबारदेखि नियमित बस सञ्चालनमा आएको हो।
पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य टेकबहादुर गुरुङले बस सेवाको औपचारिक उद्घाटन गरे। गुरुङले उद्घाटन समारोहमा सार्वजनिक बस सञ्चालनले मनाङको यातायात व्यवस्थापनमा उल्लेखनीय सुधार ल्याउने विश्वास व्यक्त गरे।
‘‘अब पर्यटकसहित आम यात्रुहरू उचित भाडामा सुरक्षित र सहज रूपमा यात्रा गर्न सक्नेछन्,’’ उनले भने। साथै, मालसामान ढुवानीमा पनि सहुलियत पुग्ने उनको भनाइ थियो।
बसलाई लमजुङ र मनाङको सिमानामा पर्ने म्याग्दे पुलमा भव्य स्वागत गरिएको थियो। मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यका अनुसार स्थानीय र पर्यटकलाई सहज यातायात सेवा दिन सार्वजनिक बस सञ्चालन गरिएको हो।
यसअघि मनाङमा यात्रु परिवहनका लागि पाँच सिटे क्षमताका पिकअप जिप मात्र सञ्चालनमा थिए। जसका कारण यात्रुहरूलाई महँगो भाडा, असहज यात्रा र सुरक्षा अभावको समस्या थियो। नयाँ बस सेवा सञ्चालनसँगै जीपहरूको एकाधिकार अन्त्य भएको छ।
डुम्रे–बेसीशहर–चामे सडकखण्डमा हाल कच्ची तथा पक्की दुवै खालका रुटमा बस सञ्चालन हुने सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले जानकारी दिए। ‘‘हाल चामेबाट र बेसीशहरबाट एक–एक वटा बस सञ्चालनमा छन्। छिट्टै थप बसहरू सञ्चालन गरिनेछ,’’ उनले नागरिकन्युजसँग भने।
उनका अनुसार हाल डुम्रे–बेसीशहर–चामे सडक आयोजना सक्रिय रूपमा रहेको छ र धेरैजसो ठाउँमा बाटो सुधार भइसकेको छ।
भाडादर निर्धारणसमेत जिल्ला प्रशासन, यातायात व्यवस्था कार्यालय र व्यवसायीबीचको छलफलबाट गरिएको हो। ‘‘बेसीशहरदेखि चामेसम्मको भाडादर ७४० रुपैयाँ तोकिएको छ, जुन अघिल्लो जीप भाडा १२५० रुपैयाँभन्दा धेरै सस्तो हो,’’ अर्यालले जानकारी दिए।
पहिलो चरणमा दैनिक रूपमा बेसीशहर र चामेबाट बस छुट्नेछ। यात्रुको माग र चाप अनुसार थप बसहरू सञ्चालन गरिने सप्रजिअ अर्यालले बताए।
बेसीशहर देखी चामे ६५ किलोमिटर छ। नयाँ बस सेवा सुरु भएपछि स्थानीयवासी तथा पर्यटकलाई सस्तो, सुरक्षित र भरपर्दो यात्रा सुविधा प्राप्त हुने अपेक्षा गरिएको छ।
प्रकाशित: ७ वैशाख २०८२ १९:४५ आइतबार