१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

चन्दा उठाएर किरियापुत्री भवन

बागलुङ नगरपालिका—४ उपल्ला चौरमा निर्माण गरिएको सामुदायिक काज किरिया भवन ।

बागलुङ बजारमा बसोबास गर्ने अधिकांशको आफ्नै घर छैन । भाडा तिरेर बस्छन् । आफ्नै घर भएकाहरूको पनि घर बाहेकको जमिन छैन । सुखद उत्सवहरू त होटेल रेस्टुरेन्ट पार्टी प्यालेस जता मनाए पनि हुन्छ । दुःखद क्षण र काज किरिया गर्नुपर्ने भयो भने चाहिँ गाउँ नै फर्किनुपर्ने बाध्यता आइलाग्छ । यही बाध्यताको हल गर्न बागलुङ नगरपालिका—४ उपल्लाचौरका स्थानीयले सामुदायिक काज किरिया भवन बनाउने जुक्ती निकाले ।

सामुदायिक भवनबाट काज किरिया गर्दा सबैका लागि सहज हुने भएपछि चन्दा संकलन गरेर भवन बनाएका भवन निर्माण समितिका अध्यक्ष हरिबहादुर जिसी ‘सन्तोष’ बताउँछन् । ‘सुखको काम त जता गरे पनि हुन्छ, दुःखको काम उम्काउन साह्रै अप्ठ्यारो पर्‍यो,’उनी भन्छन्,‘उपल्ला चौरमा सहरीकरण बढ्दै गएपछि त्यो समस्या पनि झन् बढेर गएपछि सामुदायिक काज किरिया भवन निर्माण गर्ने निधो गरेर काम अगाडि बढायौँ ।’ मृत्युपश्चात् गरिने काज किरियामा सहयोग पुर्‍याउने उद्देश्यले किरियापुत्री बसेर आवश्यक कर्म गर्नका लागि भवन निर्माण गरिएको हो ।

‘उपल्ला चौरमा घर भएका, भाडामा बस्ने र विपन्न गरिब नागरिकलाई काज किरिया कर्म गर्न सहज होस् भन्ने उद्देश्यले सुविधा सम्पन्न काज किरिया भवन निर्माण गरिएको हो,’ समिति अध्यक्ष जिसीले भने । कुल २३ लाख रुपैयाँमा निर्माण गरिएको भवनमा बास बस्न तीन वटा कोठा, तीन वटा शौचालय र तीन ठाउँमा पुजा गर्न तथा पिण्ड चढाउनका मिल्ने सत्तल निर्माण गरिएको छ । यो भवन निर्माणका लागि नागरिक स्तरबाट स्वतःस्फूर्त रुपमा चन्दा उठाइएको छ ।

बागलुङ नगरपालिका—४ नम्बर वडा कार्यालय एक लाख ३६ हजार ७ सय रुपैयाँ बजेट दिएको थियो । बाँकी सबै रकम स्थानीयबाट उठाएर भवन निर्माण पूरा गरिएको निर्माण समितिकी कोषाध्यक्ष गोमा केसीले बताइन् । भवन निर्माणका लागि २८७ जनाले पाँच हजारका दरले सहयोग गरेका छन् । एक हजार दुई हजार सहयोग गर्ने पनि छन् । ‘हामीले कसैलाई पनि तोकेर रकम मागेनौँ, स्वैच्छिक रुपमा जति दिनुभयो लियौँ, ३५० जना भन्दा बढिले यसका लागि सहयोग गर्नुभएको छ,’उनले भनिन् ।

स्थानीय सामुदायिक वनको जग्गामा भवन निर्माण गरिएको छ । वि.सं. २०७७ सालमा निर्माण सुरु गरिएको भवन कोरोना भाइरस महामारीको कारण रोकिएर अहिले निर्माण सम्पन्न भएको यस किरियापुत्री भवनको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले उद्घाटन गरे । आर्थिक सामाजिक हिसाबले कमजोर भएकै कारण कसैले पनि काज किरिया गर्नबाट वञ्चित हुन नपरोस् भनी भवनको निर्माण गरिएको समितिका सचिव रामकाजी भण्डारी बताउँछन् ।

‘कुनै पनि नागरिक काज किरिया गर्नबाट बन्चित नहोस् भन्ने मुख्य उद्देश्य रहेको छ, यहाँबाट हिन्दु धार्मिक परम्परा अनुसार सबैले काज किरिया गर्न सक्छन्,’उनले भने । उपल्ला चौरमा सहरीकरण बढ्दै गएपछि वडा चौरमा रहेका सत्तलमा काज किरिया गर्न नदिएपछि सामुदायिक भवन निर्माण गर्नुपर्ने बाध्यता आइलागेको स्थानीय बताउँछन् । उपल्ला चौरमा ग्राणिम क्षेत्र धम्जा, भिमापोखरा लगायतका क्षेत्रबाट आएर बसोबास गर्नेको संख्या धेरै छ ।

गाउँको जग्गा जमिन विक्री गरेर आएकाहरूको त गाउँ जाने ठाउँ पनि नभएपछि यो भवन गतिलो विकल्प बन्ने विश्वास गरिएको छ । ‘यो भवनमा बागलुङ नगरपालिका–४ उपल्लाचौरका स्थानीय मात्र होइन अन्य ठाउँका नागरिकले पनि प्रयोग गर्न सक्नुहुन्छ । भवनको प्रयोग गरेबापत कुनै शुल्क तिर्नुपर्दैन । तर कसैले व्यवस्थापनको लागि सहयोग गरेमा स्विकार्ने छौँ,’ भण्डारीले भने । भण्डारीले सामुदायिक काज किरिया भवन सञ्चालनको लागि पाँच लाख रुपैयाँको सञ्चालन कोष बनाउन अभियान सुरुवात गरिएको बताए ।

उनले कोषको रकमबाट आउने व्याजले भवनमा प्रयोगको लागि भाँडा र लत्ता कपडा खरिद तथा विद्युत् र पानीको शुल्क तिर्न प्रयोग गरिने बताए । ‘विपन्न र गरिब नागरिकले आर्थिक अभावकै कारण काज किरिया गर्न नसक्ने अवस्था आउँदा हामीले नै आवश्यक सहयोग गरेर त्यस्तो कार्य पूरा गराउन सकियोस् भन्ने बारेमा सोचिरहेका छौँ,’उनले भने । भवनमा एक साथ १०/१२ जना किरियापुत्री बस्न सक्ने गरी निर्माण गरिएको छ । भवन उद्घाटन नहुँदै ७ जनाले सुविधा लिइसकेका छन् । 

प्रकाशित: ७ वैशाख २०८२ १८:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App