मधुवन नगरपालिका–८ बस्ने ३७ बर्षिया विष्णु महतरा तीन महिना अघि आकर्षक तलबको प्रलोभनमा परेर कुवेत पुगिन । तीन महिना घरेलु कामदारका रुपमा जागिर गरिरहेकी उनलाई चर्को गर्मीमा कामको दबाब सहन नसक्दा नाक र मुख बाट रगत बगिरह्यो । तर, उपचार नपाएपछि सामाजिक सञ्जालमा सार्वजनिक भएर उद्धार गर्न आह्वान गरिन ।
पत्नीको बारेमा बेखबर रहेका श्रीमान रोजगारीका लागि भारतको काशी पुगेका घर फिर्ता भए । पीडित परिवार आप्रवासी स्रोत केन्द्रको सूचनाका आधारमा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा समक्ष पुगेको साता दिन भित्र गृह मन्त्रालय र कन्सुलर विभागको समन्वयमा महतरा सकुशल उद्धार भएर शुक्रबार घर पुगिन ।
महतराको उद्धार गर्नू अघि कुवेत पठाउँने भूमिकामा रहेकी गौरी जुल्मी मगरलाई नियन्त्रणमा लिएर प्रक्रिया अघि बढाउँदा उद्धार सफल भएको एसपी केदार खनालले बताए । ‘एजेन्टलाई पक्राउ नगरेसम्म पीडितको ठर ठेगाना नै थाहा हुँदन, पैसा पनि एजेन्टले नै लिएका हुन्छन,’ उनले भने ।
पीडितको ठेगाना सहित हुलिया गृह र कन्सुलर विभागलाई जिल्ला प्रशासनले पत्राचार गर्दा सकुशल उद्धार गर्न सकिएको प्रशासनको भनाई छ ।
यो प्रतिनिधि घटना मात्र हो । कुवेतमा बन्धक बनेकी बढैयातालकी रेखा बिक गत असोज यस्तै प्रक्रियामा मार्फत उद्धार भइसकेकी छन् । गत पुसमा मदरल्यान्ड मेनपावर मार्फत बर्दियाका १५ जना कुवेत पुगे । आकर्षक तलबमा पाइने लालसामा पुगेर कुवेतमा अलपत्र परेको जिल्ला प्रशासनमा उजुरी पर्यो । उजुरीको आधारमा एजेन्ट तारा पराजुलीलाई पक्राउ गरी १५ जना फिर्ता ल्याउने सहमति भएअनुसार नै १५ जनाको उद्धार भयो ।
गृह र कन्सुलर विभागले छिटो र छरितो काम गर्दा सहज रुपमा घर फिर्ता भएको आप्रवासी स्रोत केन्द्रका परामर्शकर्ता विनिता शर्माले जानकारी दिइन । चैत १४ गते भारतमा अलपत्र परेकी बढैयाताल – ८ कि १७ वर्षिया सलिना मंगताको उद्धार भयो । जिल्ला प्रशासनको अनुरोधमा गृह मन्त्रालयले भारतमा कार्यरत संस्था किन इन्डियाका नामको संस्था मार्फत उद्धार गरी मंगतालाई घरको जिम्मा लगाइएको छ ।
पछिल्लो समय ललाइ फकाई कुवेतमा पुर्याएका महिलाको उजुरीको आधारमा तत्काल उद्धार गर्ने काम प्राथामिकतामा राखेर अघि बढाएको प्रमुख जिल्ला अधिकारी शर्माले बताइन ।‘एजेन्ट टाढाको देखिदैँनन् र घरछिमेककाले सोझासाझा महिलालाई फकाईरहेका छन्,’ उनले भनिन, ‘कागजि प्रक्रिया लामो समय लाग्ने भएकाले फोन र पत्राचार मार्फत गृह मन्त्रालय र कन्सुलर विभागमा सूचना दिन्छौ, सोहि अनुसार सफल उद्धारका काम भइरहेको छ ।’
प्रजिअ शर्माका अनुसार २५ जनाको उद्धारको पहल भइरहेको छ । ऐजेन्ट खोजी गरी पक्राउ गर्ने र ठेगाना यकिन गरेर गृह मन्त्रालय र कन्सुलर विभागमा पत्राचार गरेर उद्धार पहल गरिरहेको उनले जानकारी दिइन । नागरिकता र पासपोर्ट बनाउँन आउँने महिलालाई आप्रवासी स्रोत केन्द्रले परामर्श दिएपछि मात्र सेवा उपलब्ध गराउँने नमुना कामको सुरुवात गरिएको प्रजिअ शर्माको दाबी छ ।
प्रकाशित: ५ वैशाख २०८२ २०:०० शुक्रबार





