रक्सीले मातिएर व्यवसायीलाई जथाभावी धम्क्याउने सशस्त्र डिएसपीलाई स्थानीयले कारबाहीको माग गरेका छन्। रौतहट उद्योग वाणिज्य संघले सशस्त्र प्रहरीका डिएसपीलाई कारबाहीको माग गर्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय रौतहटमा औपचारिक रूपमै पत्र बुझाएको छ।
गत सोमबार वैशाख १ गते स्थानीयले राति करिब साढे ८ बजेतिर सशस्त्र प्रहरी डिएसपी दिनेश बस्नेतले व्यवसायीमाथि दुर्व्यवहार गरेको आरोप लगाएका छन्। डिएसपी बस्नेतले गौर नगरपालिका ५ स्थित नेपाल लजको छेउमा रहेको निताई कस्मेटिक पसल सञ्चालन गरेका शनि केशरीसित दुर्व्यवहार गरेका हुन्।
व्यवसायी केशरीले नेपाली उत्पादन पतञ्जलीसहितका नेपाली सामानका डिलरसीप सञ्चालन गरेका छन्। केशरीले पसल अगाडि पार्किंङ गरी अनलाइन बिलिङ गरी सामान राखिरहेको अवस्थामा पुगेर सशस्त्र डिएसपी बस्नेतले बलजफ्ति भन्सार चलान गर्न खोजेका थिए। रक्सीले मात्तिएका डिएसपी बस्नेतले जथाभावी बोल्दै अनावश्यक दबाब दिन थालेपछि स्थानीयहरू भेला भएका थिए। राति होहल्ला गर्ने डिएसपीलाई समातेर तत्काल मेडिकल जाँच गराउन भनेपछि डिएसपी बस्नेत भागेका थिए।
सशस्त्र प्रहरीका डिएसपी बस्नेतले व्यवसायीमाथि दुर्व्यवहार गरेको भन्दै रक्स्याहा डिएसपीमाथि औपचारिक रूपमै कारबाहीको माग उठेपछि सशस्त्र प्रहरी बल रौतहटका प्रमुख सशस्त्र एसपी सन्तोषकुमार बस्नेतले घटनाको बारेमा थाहा पाएको बताउँदै अनुसन्धान गरिरहेको जानकारी गराएका छन्।
ज्ञापनपत्र बुझेपछि रौतहटका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले लिगल रूपमा काम गर्ने व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा आफूहरूको निकायबाट कुनै कमी कमजोरी भएको देखिएका सच्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। प्रजिअ खड्काले घटनालाई आन्तरिक रूपमा सम्बोधन गर्ने आश्वासन दिएको व्यवसायीहरूको भनाइ छ।
सदरमुकाम गौरका दर्जनभन्दा बढी प्रमुख र प्रसिद्ध व्यवसायीले सशस्त्र डिएसपि बस्नेतमाथि कारबाहीको माग गरेपछि जिल्लामा रक्सी खाएर व्यवासायीमाथि दुर्व्यवहार गर्ने डिएसपीमाथि कस्तो कारबाही हुने भनी चासोको विषय बनेको छ।
प्रकाशित: ४ वैशाख २०८२ १६:०१ बिहीबार





