४ वैशाख २०८१ मंगलबार
समाज

यसरी जाेगियाे गुण्डा नाइके मनाङेको सम्पत्ति

काठमाडौं– प्रहरीको खोजीमा सूचीमा परेपछि तीन महिनादेखि कहिले भारत कहिले नेपाल गर्दै आएका दीपक मनाङे अन्ततः काठमाडौंको स्वयम्भु आसपासमा फेला परेका छन् । प्रदेश सभामा विजयी भए पनि सपथ लिनुअगाडि नै ‘कैदी हुनुपर्ने’ पोल खुलेपछि माघ ३ बाट एकाएक सम्पर्कविहीन भएका उनलाई प्रहरीले अन्तमा वैशाख ७ मा काठमाडौंमै फेला पर्याे ।

मनाङेले २ वर्ष कैद सजाय काटिसकेकाले अब बाँकी ३ वर्ष डिल्लीबजारको भग्नावशेष बनिसकेको जेलमा विताउनेछन् । उनी २०७८ वैशाख ७ गते जेलमुक्त हुनेछन् ।

एमालेको शुभेच्छामा मनाङको प्रदेश सभा सांसद बन्न सफल भए पनि उनले सपथ खान नपाएकाले उनको माननीय यात्रा भने रोकियो । महानगरीय प्रहरी परिसरले पक्राउ गरेर उनलाई काठमाडौं जिल्ला अदालत बुझाएपछि उनको यात्रा प्रदेश सभाबाट डिल्लीबजार कारागार सरिसकेको छ ।

आफ्ना प्रतिस्पर्धी चक्रे मिलनको हत्याप्रयासको अपराधबाट उन्मुक्ति नपाए पनि मनाङेले आपराधिक गतिविधिबाट आर्जन गरेको भनिएको सम्पत्तिबाट भने उन्मुक्ति पाएका छन् ।

प्रदेश सभाको टिकटको आश्वासनपछि राप्रपाबाट एमाले प्रवेश गरेका उनी टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बने पनि एमालेले आफ्नो उम्मेदवारको मनोनयन फिर्ता गराएर मनाङेको प्रदेश सभाको यात्राको ढोका खोलिदिएको थियो ।

सर्वोच्च अदालतले माघ २ मा पेन्डिङमा रहेको हत्या प्रयाससम्बन्धी मुद्दामा गणेश लामा लगायतलाई सफाइ दिएपछि यसमा जोडिएका अन्यको खोजी गर्दा मनाङेविरुद्ध यही केसमा पहिल्यै तत्कालीन पुनरावेदन अदालतबाट दोषी ठहर भएर पाँच वर्ष कैद सजाय तोकिइसकेको तथ्य सार्वजनिक भयो । लगत्तै उनको सांसद यात्रामा विराम लाग्यो र फरार यात्रा सुरु भयो ।

अदालतको आदेश सार्वजनिक भएलगत्तै उनले ‘ आफू आश्चर्य चकित भएको’ प्रतिक्रिया दिँदै अदालतमा बुझ्ने बताए पनि उनी अदालत आउनुको साटो मनाङबाट भारतको सिक्किमतिर लागे ।सिक्किममा रहेका आफन्तकोमा बस्दै आए पनि प्रहरीले उनको खोजीका लागि इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गराएपछि उनी सिक्किमै समेत सुरक्षित भएनन् ।

नेपाल प्रहरीले हाइप्रोफाइलका अपराधीलाई समेत भारतको विभिन्न स्थानबाट नियन्त्रणमा लिएर नेपाल ल्याइरहेको पृष्ठभूमिमा उनले भारतमा समेत सुरक्षित नलागेर  नेपाल आए पनि प्रहरीबाट जोगिन भने सकेनन् ।

स्रोतका अनुसार उनी नेपाल आएलगत्तैको सूचना महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले पाएको थियो । उनको मोबाइल लोकेसन हेर्दा काठमाडौं र नुवाकोटको सीमा क्षेत्र देखिएपछि प्रहरी त्यताकेन्द्रित हुन खोज्दाखोज्दै उनी काठमाडौंको स्वयम्भुमा फेला परे ।

मनाङे काठमाडौंमा फेला पर्दा महाशाखाले क्रेडिट लिन सकेन । उनलाई पच्छ्याइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेकाले जस पनि परिसरले नै पायो ।

पक्राउ परेपछि प्रहरीले मनाङेलाई अदालतमा बुझायो । अदालतले उनलाई डिल्लीबजारमा रहेको जेलमा पठाएको छ । सो अभियोगमा उनले यस अगाडि नै २ वर्ष कैद सजाय काटिसकेकाले अब बाँकी ३ वर्ष डिल्लीबजारको भग्नावशेष बनिसकेको जेलमा बित्नेछ । उनी २०७८ वैशाख ७ गते जेलमुक्त हुनेछन् ।

यसरी खुलेको थियो पोल

उनलाई अहिले जेल पुर्याउने घटना भएको २०६१ मा  हो । उनको समूहले चक्रे मिलनलाई खुकुरी प्रहार गरेर झन्डै अपाङ्ग नै बनाएको थियो । उनको समूहले हानेको तरबार लागेर काटिएको हात जोडिए पनि त्यत्ति राम्रो काम गर्दैन । 

सो घटनामा मनाङेसहित गणेश लामा, उमेश लामा, रेवत कार्की र रमेश सुनुवार जोडिएका थिए । जिल्ला अदालतले ०६१ मा मनाङेलाई २ वर्ष जेल सजायको आदेश दिँदै अन्य चार जनालाई सफाइ दिएको थियो । 
सरकारी वकिलद्वारा तत्कालीन पुनरावेदन अदालत पाटनमा गएपछि मनाङेलाई ५ वर्ष कैद सजाय सुनाइयो, अन्यले सफाइ नै पाए । मनाङेको हकमा चित्त बुझाए पनि सरकारी वकिलले अन्यको हकमा चित्त नबुझाई सर्वोच्च पुग्यो । सर्वोच्चले पुनरावेदनकै फैसला सदर गरी ४ जनालाई सफाइ दिएपछि सो घटनामा मनाङेविरुद्ध पाँच वर्ष कैदको फैसला भए पनि उनी जेलबाहिर रहेको पोल खुलेको थियो ।

सम्पत्ति भने जोगियो
आफ्ना प्रतिस्पर्धी चक्रे मिलनको हत्याप्रयासको अपराधबाट उन्मुक्ति नपाए पनि मनाङेले आपराधिक गतिविधिबाट आर्जन गरेको भनिएको सम्पत्तिबाट भने उन्मुक्ति पाएका छन् ।

सरकारी वकिलको बदमासीका कारण सम्पत्ति शुद्धीकरण विभाग र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानमा खुलेको कालो धन सेतो भयो ।

विशेष अदालतले उनको सम्पत्ति आपराधिक गतिविधिबाट आर्जन गरेको पुष्टी नभएको भन्दै सफाइ दिएपछि जिल्ला न्यायाधिवक्ताको कार्यालय काठमाडौं सो फैसलाविरुद्ध पुनरावेदनमा जाने दाबी गरेको थियो । 

विशेष अदालत ऐनले ‘विशेषले फैसला गरेको विषयमा चित्त नबुझे’ ३५ दिन र विशेष कारण भए १५ दिन म्याद थामेर पुनरावेदन गर्न मिल्ने व्यवस्था छ । तर पुनरावेदन जाँदा सरकारी वकिलले दुवै हदम्याद नाघेर गयो र मनाङेको कालो धन सेतो भयो । सरकारी वकिलले फैसला आएको ६१ औं दिनमा मात्र पुनरावेदनका लागि अदालत गएर पुनरावेदनको बाटै बन्द गराइदिए । शुक्रवार साप्ताहिकबाट

प्रकाशित: १४ वैशाख २०७५ ०८:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App