८ वैशाख २०८२ सोमबार
image/svg+xml
समाज

देवानगञ्ज गोली प्रहार घटना: दुई जना पक्राउ, तीन जना अझै फरार

सुनसरी देवानगञ्जमा सोमबार साँझ गोली प्रहारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोली लागेर सामान्य घाइते भएका देवानगञ्ज वडा नं. २ का २४ वर्षे रविनकुमार यादव र सोही ठाउँका पिन्टु यादव छन्।

गोली प्रहारबाट घाइते भएका अर्का देवानगञ्ज वडा नं. १ का शिवुकुमार मेहताको भने नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार छ जना साथीबिच विवाद भएर गोली प्रहार भएको हो । जसमाशिवकुमार सिकिस्त घाइते भएता पनि अरु दुई जना भने सामान्य घाइते भएका थिए । एसपी तिम्सिनाका अनुसार रविनकुमारको नाममा सामान्य चोट लागेको र पिन्टु अतालिएर भाग्न खोज्दा मोटरसाइकलबाट लडेर घाइते भएका छन् ।

गोली प्रहारमा रविनकुमार र पिन्टु दुवैको संलग्नता देखिएकाले गर्दा पक्राउ गरी अनुसन्धान थालिएको उनले बताए । रविनकुमार एक महिनाअघि मात्र लागूऔषध कारोबारमा मुद्दामा कैद सजाय भुक्तान गरी छुटेका हुन् ।

सो गोली प्रहारमा संलग्न हुने तीन जना फरार भएका छन् । उनीहरूको खोजी कार्य भइरहेको  छ । फरार हुनेमा देवानगञ्ज वडा नं. ६ का कामेश्वर यादव र उनका छोरा जयकृष्ण यादव एवम् भारतीय नागरिक राजा पासवान रहेका छन् ।

‘साथीहरुबीच विवाद भएर गोली प्रहार भएको देखिन्छ,’ एसपी तिम्सिनाले भने, ‘घटनामा छ जनाको संलग्नता देखिएको र उनीहरु सीमा क्षेत्रमा विभिन्न आपराधिक गतिविधिमा संलग्न हुँदै आएको खुलेको छ।’लेनदेनको विषयमा दुई दिनअघि विवाद भएको विषयलाई लिएर गोली प्रहार भएको खुलेको छ । गोली प्रहार भने जयकृष्णले गरेका थिए । उनले पेस्तोल प्रहार गरेको स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् । 

प्रकाशित: २ वैशाख २०८२ १५:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App