इटहरीको व्यस्त बजार क्षेत्रमा सञ्चालित सबैभन्दा पुरानो जनता माध्यमिक विद्यालयको जग्गा विभिन्न व्यक्ति र संस्थाले उपयोग गर्दै आएका छन् । ती व्यक्ति र संस्थाले उपयोग गर्दै आएको जग्गा पटक पटक फिर्ता ल्याउने पहल हुँदा पनि सम्भव भएको छैन ।
२०१३ सालतिर इटहरीमा जनता प्रावि स्थापना भयो । त्यसबेला सरकारी भनिने सामुदायिक विद्यालयले नै इटहरीको शैक्षिक नेतृत्व गर्नुपर्ने अवस्थामा जनतासहित क्रमशः अरु विद्यालय खुल्दै गए ।
विद्यालय खुल्ने क्रममा २०४३–४४ सालताका वडा नं. ७ मा लक्ष्मी प्रावि (हालको लक्ष्मी मावि) विद्यालय सञ्चालन गर्न जनता माध्यमिक विद्यालयको १३ बिगाहा जग्गामध्ये आधा प्रयोग गर्न दिने सहमति दिएको थियो । अहिले त्यो जग्गामध्ये लक्ष्मी माविले प्रयोग गरेकोबाहेक केही जग्गा विभिन्न व्यक्तिहरुले मिचेका छन् । मिचेको जग्गामा कसैले गाई गोठ त कतिपयले कुखुराको खोर जस्ता भौतिक संरचना निर्माण गरेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा विद्यालयका प्रधानाध्यापक पशुपति सिग्देलले बताए ।
२०४२ सालपछि विद्यालय खुल्ने क्रममै इटहरी वडा नं. ४ मै कचना स्कुल स्थापना गर्न जनताकै जग्गा प्रयोग गर्न दिने लिखित सहमति भएको थियो । त्यो सहमति अनुसार एक बिगाहा १९ कट्ठा जग्गामध्ये दस कट्ठा जग्गा प्रयोग गर्न दिने सहमति भएको थियो । तर, कचना स्कुलले झण्डै एक बिगाहा जग्गा ओगटेर भवन बनाएको छ ।
पछिल्लो समयमा जनता स्कुलकै जग्गामा वडा नं. ४ ले वडा कार्यालय बनाइएको छ भने खानेपानी तथा उपभोक्ता समितिले समेत विद्यालयको जग्गा ओगटेर पानी तान्ने बोरिङ गाडेको छ । खानेपानीले बोरिङ गाडेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयमा उजुरी समेत परेको छ । जनताकै केही जग्गामा फुटसल खेल्ने मैदान पनि स्थानीयले बनाएका छन् ।
त्यसो त इटहरी वडा नं. ९ हाट खोलामा रहेको ५ कट्ठा हाराहारी जग्गामध्ये अहिले डेढ कट्ठा हाराहारी मात्र विद्यालयले उपयोग गरेको छ । अरु सबै जग्गा विभिन्न व्यक्तिले मिचेर प्रयोग गर्दै आएका छन् । यस क्षेत्रको जग्गाको मूल्य स्थानीय बजार भाउ अनुसार १५ लाख भन्दा बढी नै प्रति धुर रहेको छ । यस क्षेत्रमा विद्यालयको जग्गा १४ जना स्थानीयले मिचेको प्रअ सिग्देलले बताए ।
इटहरीको जनता माध्यमिक विद्यालयमा विद्यार्थीको चापसँगै दुई वटा सेक्टरमा पढाइ हुने गरेको छ । जसमा वडा नं. ६ को सेक्टर ‘ए’ मा रहेको स्कुलले साढे नौ कट्ठा जग्गा पूर्ण रुपमा प्रयोग गरेको छ भने वडा नं. ९ मा रहेको सेक्टर ‘बी’ मा रहेको स्कुलले दुई बिगाहा साढे पाँच कट्ठा क्षेत्रफल जग्गा ओगटेको छ । विभिन्न व्यक्ति र संस्थाले प्रयोग गर्दै आएको जनता माध्यमिक विद्यालयको जग्गा खोजी गर्न पहल गर्नुपर्ने वडा नं. ६ का वडाध्यक्ष दिवस पोखरेलले बताए ।
यसैबिच, जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिको दुई अवधिको कार्यकाल पुरा भएपछि अध्यक्ष कासिनाथ दंगालद्दारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा विभिन्न व्यक्ति र संस्थाले उपयोग गरेको जग्गा फिर्ता ल्याउन इटहरी उपमहानगरपालिकाको ध्यानाकर्षण गराइ सकेको बताए । उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘विधिको शासन पालना गर्न निकै चुनौतीपूर्ण रह्यो ।’
२०७५ असार ५ गतेदेखि दुई कार्यकाल अध्यक्ष भएका दंगालले यो अवधिमा एक हजार २८४ विद्यार्थीबाट कक्षा १२ सम्म तीन हजार २०२ पुर्याउन सफल भएको र १२ वटा कक्षाकोठाबाट भवन निर्माण गरी ७६ वटा कक्षाकोठा बनाउन सफल भएको बताए । यस्तै, हाल विद्यालयको हाल बैंक मौज्दात रकम ५५ लाख ७१ हजार २६६ रहेको सार्वजनिक गरियो ।
यहाँ अग्रेजी माध्यममा सञ्चालित कक्षा भने अभिभावकको सहयोगमा हुने गरेको छ । जसका लागि वार्षिक पाँच करोड रुपैयाँ हाराहारी शिक्षक तथा कर्मचारीका लागि खर्च हुने गरेको छ । यहाँ कुल १४८ जना शिक्षक तथा कर्मचारी रहेकोमा ३२ जना मात्र दरबन्दीका रहेका छन् ।
प्रकाशित: २ वैशाख २०८२ १४:२७ मंगलबार