१ असार २०८२ आइतबार
image/svg+xml
समाज

सुनसरीको देवानगञ्जमा गोली प्रहार, दुई जना घाइते

सुनसरीको देवानगञ्जमा सोमबार साँझ गोली प्रहार हुँदा दुई जना घाइते भएका छन्।

घाइते हुनेमा देवानगञ्ज गाउँपालिका–२ का २४ वर्षीय रविन्द्र यादव र वडा नं-१ का शिवुकुमार मेहता रहेका छन्।

प्रहरीका अनुसार यादवको अवस्था सामान्य छ। उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ। गम्भीर घाइते मेहतालाई भने विराटनगरस्थित नोवेल अस्पताल लगिएको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक अनिल अधिकारीले गोली प्रहार भएको सूचना प्राप्त भए पनि विस्तृत विवरण आउन बाँकी रहेको बताए। उनका अनुसार प्रहरी निरीक्षक पर्शुराम राईको नेतृत्वमा एक टोली घटनास्थलतर्फ पठाइएको छ।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा तस्करीसँग सम्बन्धित गिरोहबीचको विवादकै कारण गोली चलेको खुल्न आएको छ। गोली प्रहारमा संलग्न समूह देवानगञ्ज–६ का युवाहरु रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ।

‘अहिलेसम्म एउटालाई भेटेर स्थानीय क्लिनिक पुर्‍याइएको छ, अर्को घाइतेलाई विराटनगर लगिएको छ। गोली प्रहार गर्ने समूहको खोजी भइरहेको छ,’ घटनास्थलमा रहेका देवानगञ्ज प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठले भने, ‘घटनाबारे विस्तृत जानकारी लिन केही समय लाग्छ।’

प्रकाशित: १ वैशाख २०८२ १९:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App