रौतहटमा ट्राफिक व्यवस्थापन कमजोरी रहेको पाइएको छ । सदरमुकाम गौरदेखि जिल्लाका अन्य मुख्य बजार क्षेत्रका ट्राफिक व्यवस्थापन कमजोर रहेको कारण दिनहुँ दुर्घटना हुनुले ट्राफिक व्यवस्था भद्रगोल छ ।
सवारी साधन पार्किङ गर्ने देखि लिएर सडकमा गुड्ने गुडाउने सवारी साधानका चालकहरुका लापरवाहीका कारण उत्पन्न हुने असहज परिस्थितिले दैनिक दुर्घटना निम्तने गरेको छ ।
यहाँका ट्राफिक प्रहरी चेकिङको नाममा राजस्व असुल गर्न बाहेक कुनै ठोस कार्य नगरेकाले पनि चालकहरुको मनपरी बढेको गुनासो स्थानीयको छ । मोटरसाइकलमा तीन जना बसेको, हेलमेटको प्रयोग नगरेको, कागजपत्र सवारी धनीसँग नभएको जस्ता कार्यलाई तिव्रताका साथ चेकजाँच गर्नुपर्ने ठाउँमा त्यसो नगरी भुस, राँगा, लगायतका विभिन्न मालबाहक ट्रक ट्रेक्टर, पिकअप जस्ता सवारी साधनहरुलाई प्रायः ट्राफिक प्रहरीले चेकिङको नाममा रोकिने गरेको र त्यहाँ रहेका ट्राफिक प्रहरीसँगको भलाकुसारी पश्चात गन्तव्यतर्फ लाग्ने कार्य नै मुख्य डिउटी रहेको स्थानीयको आरोप छ।
सङग्रामपुरका केदार राउत भन्छन, छोराको उपचार गराउन हतार हतार गरुडा जाँदा कागज पत्र भुलेको थिए । घरमा छ । अहिलेलाई जरीवाना गराउनु भन्दा पनि करिब २ घण्टा अल्झाएका थिए ।
सदरमुकाम गौरमा जिल्ला प्रहरी कार्यालय अगाडी भारतीय नम्बर प्लेटका सवारी साधनहरु पाकिङ गर्ने गरेको पाइएको छ । प्रहरी ब्यारेक मैदानमा पाकिङ गरिने ती गाडीले दैनिक त्यहाँबाट यात्रुलाई बोकेर सीमापारी भारतीय बजार लग्ने र ल्याउने कार्य गर्छन् । तर नियन्त्रणका लागि ट्राफिक प्रहरीले कुनै कदम चालेको पाइदैन ।
गौरको सडकमा अव्यस्थित एवं जथाभावी रुपमा सवारी साधनहरु पाकिङ हुँदा व्यवसायीहरु मर्कामा पर्दै गएका छन् भने यसबाट दिनहुँ दुर्घटनाको जोखिमहरु बढने गौरका व्यवसायीहरुको गुनासो छ ।
अस्पताल चोक, अदालत चोक, नेपाल लज, ट्रान्समिटर चोक, भन्सार एरिया, विपी चोक सहितका स्थानहरुमा अव्यस्थित रुपमा खडा गरिने सवारी साधनले
सवारी चालक तथा पैदल यात्रुहरु समस्या भोग्न बाध्य छन् । त्यसको सुधारतर्फ सम्बन्धित पक्षले खासै ध्यान पुर्याउन सकेका छैनन् ।
गौर बाहेक झुनखुनवा, शुकदेव चोक, जयनगर, शिवनगर, गरुडा, चन्द्रनिगाहपुर समेतमा समुचित रुपमा ट्राफिक प्रहरीहरु आ(आफना काम कर्तव्य पालना नगरेको कारण रौतहटमा ट्राफिक व्यवस्थापन भद्रगोल छ ।
गौरमा चल्ने इ रिक्सा एवं अटो रिक्सा संचालकहरुले प्रति महिना एक हजारदेखि १५ सय रुपैयाँसम्म रकम संघका अध्यक्ष सुरेन्द्र साहलाई दिने गरेका छन् । तर हकहितका लागि कुनै सकारात्मक कार्य नभएको र राम्ररी पाकिङका व्यवस्थान नभएको गुनासो एक इ(रिक्साको व्यवसायीको छ ।
सदरमुकाम गौरमा डेढ सयभन्दा बढी नेपाली प्लेटका अटो रिक्सा र इ रिक्सा गुडिरहेको र एक सयको हाराहारीमा भारतीय अटो रिक्सा कुदिरहँदा पनि सबैको लेखाजोखा गरिने हो भने महिनाको तीन देखि चार लाख रुपैयाँसम्म असुल भईरहेको हुँदा आखिर उक्त रकम कसलाई र कहाँ जान्छन त्यसको कुनै लेखाजोखा छैनन् ।
यस विषयमा जिल्ला ट्राफिक कार्यालय चन्द्रपुरका प्रमुख ट्राफिक प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जिल्लाको ट्राफिक व्यवस्था राम्रो भएको दावी गर्दै, हाम्रो कार्य बाटो खुलाउने हो, पार्किंगको कार्य नगरपालिकाको रहेको त्यो हाम्रो प्राथमिकतामा नरहेको प्रतिक्रिया दिए ।
प्रकाशित: २६ चैत्र २०८१ १९:२० मंगलबार