३१ चैत्र २०८१ आइतबार
image/svg+xml २२:२० अपराह्न
समाज

कोशी प्रदेशमा एकै दिन ३७ वटा आगलागीको घटना

फाइल तस्बिर

सुख्खायाम सुरू भएसँगै कोशी प्रदेशका विभिन्न जिल्लामा आगलागीका घटना बढ्न थालेको छन् । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय विपद् व्यवस्थापन शाखाका अनुसार पछिल्लो १० दिनमा कोशी प्रदेशका विभिन्न जिल्लामा २ सय १८ वटा आगलागीका घटना भएका छन् ।

सामुदायिक तथा निजी बनहरूमा आगलागी हुने क्रम अत्याधिक बढेको देखिएको छ । यस्तै जङ्गलमा लागेको डढेलोका कारण कतिपय स्थानका बस्तीहरूसमेत जलेर नष्ट भएको पाइएको छ । यस्तै व्यक्तिका घर, गोठ, गुवाली लगायतमा समेत आगलागी हुने गरेको पाइएको छ ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण उपलब्ध भई नसकेको भए पनि प्रारम्भिक विवरण अनुसार सुख्खा मौसम सुरु भएसँगै भएका भौतिक सम्पत्तिको ठूलो क्षति भइरहेको देखिन्छ । विगत १० दिनको तथ्याङ्क हेर्दा चैत २२ गते सबै भन्दा बढी ३७ वटा आगलागीको घटना कोशी प्रदेशमा भएका छन् । यस्तै चैत २३ गते ३५, २१ गते २९ वटा, २७ गते २७ वटा आगलागीका घटना भएका छन् ।

आगलागीका घटनामा परेर विगत एक वर्षको अवधिमा कोशी प्रदेशमा मात्रै १० जनाको मृत्यु भइसकेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । गत वर्षको चैत १५ गते देखि चालु आर्थिक वर्षको चैत १५ गते सम्मको जिल्लागत  तथ्याङ्क हेर्दा कोशी प्रदेशको मोरङ जिल्लामा २ सय ६६ वटा आगलागीका घटना भएका छन्।

यस्तै सुनसरीमा १ सय ९३, झापामा १ सय ५९ वटा आगलागीका घटना भएका छन् । उदयपुरमा ७२, खोटाङमा ५८,भोजपुरमा ५२, इलाममा ५० सोलुखुम्बुमा ४३ र  सङ्खुवासभामा ४३ वटा घटना भएका छन् । यस्तै धनकुटा ३८, ओखलढुङ्गा ३८ र पाँचथरमा ३८ वटा घटना भएका छन् । कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा सबै भन्दा कम २६ वटा र तेह्रथुममा २७ वटा आगलागीका घटना भएका छन् । प्रदेश सरकारको तथ्याङ्क अनुसार कोशी प्रदेशमा कुल विपद्का घटना मध्ये सबै भन्दा बढी आगलागीकै घटना देखिएका छन् । २०८० सालमा कोशी प्रदेशमा विपद्का घटना मध्ये ७२ प्रतिशत घटना आगलागीका छन् । यस्तै २०८१ को चैत १५ सम्ममा कुल विपद्का घटना मध्ये ५७ प्रतिशत घटना आगलागीका रहेका छन् ।

प्रदेशका विभिन्न स्थानबाट आगलागी भएका सूचनाहरू मन्त्रालयमा आइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कमलबहादुर थापाले जानकारी दिए । उनका अनुसार प्रदेश स्तरीय विपद् व्यवस्थापन समितिको बैठकले जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई आगलागीका घटना नियन्त्रणका लागि कार्य योजना बनाएर निर्देशनसमेत दिइसकेको थापाले बताए । उनले भने‘प्रदेशमा आगलागीका घटना धेरै देखिएकाले आगलागीका घटना न्यूनीकरणका लागि कार्य योजना बनाएर जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई निर्देशन दिएका छौँ ।’

सुख्खा मौसम र विद्युत् सर्ट आगलागी हुनुको मुख्य कारण देखिएको थापाले जानकारी दिए । वन डढेलो र आगलागीका कारण बायुप्रदुषण पनि बढेको थापाले बताए । वनमा डढेलो मानवीय हेलचक्र्याइँ कारण मात्रै नभई कतिपय ठाउँमा जानीजानी पनि डढेलो लगाउने गरेको पाइएको थापाले बताए । आगलागी नियन्त्रणका लागि प्रदेश सरकारले जनचेतनामूलक सामाग्रीहरू सञ्चारमाध्यमबाट प्रसारण गरिरहेको थापाले बताए । आगलागी नियन्त्रण र पीडितहरूलाई राहत वितरणको काम पनि प्रदेश सरकारले गरिरहेको थापाले  जानकारी दिए । 

प्रकाशित: २५ चैत्र २०८१ १८:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App