चैत्राष्टमी मेलाको अवसरमा आयोजित कालिका कप महिला भलिबलको उपाधि म्याग्दीको मंगला गाउँपालिकाले जितेको छ।
बिहीबार भएको फाइनलमा ग्रेस इन्टरनेशनल बागलुङलाई ३–० को सोझो सेटमा पराजित गर्दै एसएसवाईसी मंगला गाउँपालिकाले उपाधि हात पारेको हो।
कालिका भगवती गुठी व्यवस्थापन समितिले चैते दशैँ २०८१ मा आयोजना गरेको प्रतियोगितामा मंगलाले सहज जित निकाल्यो।
पहिलो सेट २५–१३ ले जितेको मंगलाले दोस्रो सेटमा प्रतिस्पर्धात्मक खेलपछि २५–२२ को नतिजा आफ्नो पक्षमा पार्यो। तेस्रो र निर्णायक सेटमा आक्रमक प्रदर्शन गर्दै २५–१४ ले विजयी भई उपाधि पक्का गरेको हो।
नेपाल पुलिस क्लबका रिमा कुँवर र एलिसा मानन्धरको सहभागिताले मंगलाको टोली बलियो बनेको थियो। ग्रेस इन्टरनेशनलले एभरेष्ट भलिबलकी मिना सुनार र गण्डकी प्रदेशकी सोइङ थापालाई समावेश गरे पनि अपेक्षित प्रदर्शन गर्न सकेन।
उपाधि विजेता मंगलाले ८० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता ग्रेसले ४० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ।
प्रतियोगितामा ६ टोली सहभागी थिए। समितिका अध्यक्ष डा. कुमार खड्काका अनुसार शुक्रबारदेखि पालिकास्तरीय खुला भलिबल प्रतियोगिता सुरु हुनेछ। चैत २० देखि सुरु भएको मेला २५ गतेसम्म चल्नेछ।
प्रकाशित: २१ चैत्र २०८१ २१:१५ बिहीबार