२४ चैत्र २०८१ आइतबार
image/svg+xml २२:४८ अपराह्न
समाज

मुस्ताङको मार्फा : स्याउ बगान र सांस्कृतिक सम्पदाको अनुपम संगम

मुस्ताङको मार्फा भन्नासाथ स्याउको बगान, पुराना प्राचीन घर, साँघुरा गल्ली र तिनमा फैलिएका दर्जनभन्दा बढी शाखा गल्लीको सम्झना आउँछ। जैविक र सांस्कृतिक विविधताले भरिएको यो गाउँ मुस्ताङको पहिचान हो।  

यही पृष्ठभूमिबाट तीन दशकअघि मार्फामा जन्मिएकी सर्जक स्वर्गीय बसन्ती लालचनले ‘क्या राम्रो स्याउ बारी मार्फा गावैमा’ गीत रचना गरिन्। ज्योति गुरुङको स्वरमा सजिएको यो गीतले मार्फालाई नेपालभर चिनायो। त्यसपछि मार्फा नआउनेले पनि मुस्ताङमा यस्तो गाउँ छ भन्ने थाहा पाए।  

अहिले सडक सञ्जाल सहज बन्दै गएपछि मार्फा गाउँ नपस्ने पर्यटक कमै हुन्छन्। सडकमा सवारी रोकेर यहाँको भौतिक र सांस्कृतिक सम्पदा नियाल्न पर्यटक घण्टौं बिताउँछन्। तर, ‘क्या राम्रो स्याउ बारी’ गीतले वर्णन गरेजस्तो स्याउ बगानमा अहिले स्याउ देखिँदैन। पुस र माघमा बगान व्यवस्थापन गरिएकाले स्याउको फूल फूल्ने तयारीमा छ। असोज-कात्तिकमा ‘पोस्ट हार्भेस्ट’ पछि बगान उजाड हुन्छ। भदौदेखि कात्तिकसम्म आएका पर्यटकले भने लटरम्म स्याउ फलेको देख्न सक्छन्।  

हिउँद सकिएर वसन्त सुरु भएसँगै मार्फामा आन्तरिक पर्यटकको भीड थेगिनसक्नु छ। बेनी-जोमसोम सडक नजिकै रहेको यो गाउँमा पुराना घर, साँघुरा गोरेटो गल्ली र मौलिक संस्कृति हेर्न पर्यटकको भीड लाग्छ। मुख्य सडकबाट पश्चिमतिर करिब दुई सय मिटर भिरालो सतहमा रहेको मार्फामा दिउँसोदेखि साँझसम्म पर्यटकको चहलपहल हुन्छ।  

सडक विस्तार र स्तरोन्नतिले मार्फाको पर्यटकीय गतिविधि झन् बढाएको छ। मुक्तिनाथ र कोरलानाका गएर फर्कने पर्यटक मार्फा छुटाउँदैनन्। सूर्य विनायक, भक्तपुरबाट मुक्तिनाथ दर्शन गर्न आएका बलराम गौतम मार्फाको सांस्कृतिक सम्पदाले मोहित भएको बताउँछन्। पहिलो पटक आएका गौतमले पुराना ढुंगा-माटोका घर, छतमा राखिएका दाउराको चाङ र साँघुरा गल्ली चाहार्दा आनन्द लागेको अनुभव सुनाए। ‘मार्फाको विशेषता यहाँका प्राचीन घर र साँघुरा गल्ली हुन्,’ उनले भने, ‘गल्लीभित्र होटल र पसल छन्, सडकमै पर्ने भएकाले घुम्न सजिलो छ।’  

मारFफामा करिब सयभन्दा बढी घरधुरी छन्। यहाँका स्थानीयले कृषि र पर्यटनबाट आम्दानी गर्छन्। स्याउ र अन्नबाली उत्पादनसँगै पर्यटन व्यवसाय पनि उनीहरूको मुख्य पेसा बनेको छ। पर्यटक बढेसँगै बेनी-जोमसोम सडकमा स्याउ बगान मासेर कंक्रिट होटल बनाउने होड चलेको छ। तर, घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन पुरानो भौतिक संरचना नमासिने बताउँछन्। ‘कंक्रिट घर बने पनि प्राचीन बस्तीको संरचना मासियो भने मार्फाको अस्तित्व संकटमा पर्छ,’ उनको भनाइ छ।  

मुख्य सडकबाट गाउँतिर मोडिएर करिब पाँच सय मिटर साँघुरो गल्ली हिँड्दा उत्तरको राजमार्गमा पुगिन्छ। भिरालो सतहमा जोडिएका प्राचीन घरभित्र दर्जनौं शाखा गल्ली छन्। यहाँ स्वदेशी-विदेशी चलचित्र र म्युजिक भिडियो छायांकन भएका छन्। सामाजिक सञ्जालमा पोस्ट हुने दृश्यले मार्फाको पर्यटनलाई थप उचाइ दिएको छ।  

पोखराबाट पहिलो पटक आएका सुरज कुँवर मार्फाको सांस्कृतिक सौन्दर्य अद्भुत भएको बताउँछन्। ‘बजारमा यस्तो विविधता देख्न पाइँदैन, यहाँ प्रत्यक्ष अनुभव गर्न पाइयो,’ उनले भने, ‘मार्फाले पुरानो नेपालको झल्को दियो।’ ‘क्या राम्रो स्याउ बारी’ गीत सानैदेखि सुने पनि बेमौसम आएकाले स्याउ फलेको नदेखेको उनको भनाइ छ।  

मार्फाका साँघुरा गल्लीमा चलचित्र र टिकटकजस्ता नामले स्याउ आकृतिको साइनबोर्ड राखिएको छ। यहाँ थकाली, गुरुङ र तिब्बती संस्कृति झल्कने पोसाकमा फोटो खिच्ने व्यवस्था छ। साँझपख पर्यटक यस्तो पोसाकमा फोटो खिच्न लालायित हुन्छन्। भीडमा गल्लीमा ठोक्किनुपर्ने अवस्था आउँछ।  

मार्फामा एउटा बौद्ध गुम्बा र जापानी भिक्षु इकाई कावागुची बसेको पाँच सय वर्ष पुरानो घर छ। नजिकैको थुम्कोमा एप्पल पार्क बनेको छ। साँझको सडक बत्तीले गाउँको सौन्दर्य थप्छ। अग्लो पहाडको गुफाबाट परिदृश्य हेर्न सकिन्छ। यहाँ आधा दर्जन स्याउको ब्रान्डी बनाउने डिस्टिलरी छन्। नेपाल सरकारको शीतोष्ण बागबानी केन्द्रले किसानलाई सिकाउँछ र बिरुवा उत्पादन गर्छ। सुन्दरकुमार थकाली/रासस

प्रकाशित: २० चैत्र २०८१ ०६:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App