२१ चैत्र २०८१ बिहीबार
image/svg+xml १:५२ पूर्वाह्न
समाज

सञ्चारकर्मी सुरेश रजकलाई सहिद घोषणा गर्न माग

नेवाः पत्रकार राष्ट्रिय दबुले राजावादीको प्रदर्शनमा मारिएका सञ्चारकर्मी सुरेश रजकलाई सहिद घोषणा र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिलाउन सरकारसमक्ष माग गरेको छ। सञ्चारगृहमाथि भएको आक्रमण र सञ्चारकर्मी मारिएको विरोधमा नेवाः पत्रकार राष्ट्रिय दबुले आइतबार वसन्तपुरस्थित महादेव पार्वती डबलीमा धर्ना दिई सो माग गरेको हो।

धर्नामा वक्ताहरूले राजावादीको कथित आन्दोलनको नाउँमा तीनकुनेमा भएको अराजक तथा हिंसात्मक गतिविधिमा सञ्चारकर्मी मारिने र सञ्चारगृहमाथि आक्रमण हुँदा पनि गृह प्रशासन जिम्मेवार तवरले प्रस्तुत नभएकोमा आलोचना गरेका थिए। घटनाको उचित छानबिनका लागि उच्चस्तरीय आयोग गठन गर्नुपर्ने पनि उनीहरूको माग रहेको छ।

सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबुका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले प्रदर्शनमा भएको अराजक गतिविधिको निन्दा गर्दै सञ्चारगृहमा हस्तक्षेप र सञ्चारकर्मी मारिएकोमा दुख व्यक्त गरे। सञ्चारकर्मी रजक समाचार संकलनको क्रममा मारिएकोमा उनलाई सहिद घोषणा गर्न माग गर्दै अध्यक्ष श्रेष्ठले सो माग पूरा नभएसम्म चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी दिए।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का महासचिव समिर बलामीले जुनसुकै आन्दोलनको निशाना आदिवासी जनजाति भएको उल्लेख गर्दै सरकारले चैत १५ गते भएको प्रदर्शनमा मृतकलाई सहिद घोषणा र उचित क्षतिपूर्ति दिन माग गरे। उनले पत्रकार मारिएको विषयमा गृह मन्त्रालयलाई जवाफदेही बन्न पनि आग्रह गरे।

धर्नामा मिडिया एलाइन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले सञ्चारकर्मी रजक मारिएकोमा दुख व्यक्त गर्दै यस विषयमा सरकारले सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष छानबिन आयोग गठन गर्न माग गरे। सरकारले सञ्चारकर्मी रजकलाई तीन दिनभित्र सहिद घोषणा नगरे सरकारविरुद्ध कडा रूपमा प्रस्तुत हुने पनि अध्यक्ष राजकर्णिकारको भनाइ छ।

मधेसी पत्रकार समाजका अध्यक्ष मोहन सिंहले शुक्रबार तीनकुनेमा भएको घटनामा सरकार मूकदर्शक बनेको आरोप लगाउँदै सरकारले घटना लुकाउन खोजेको भन्दै त्यसको सत्यतथ्य बाहिर ल्याउन न्यायिक छानबिन समिति गठन गर्न माग गरे। मृतक सञ्चारकर्मीको परिवारको तर्फबाट राजेन्द्र रजकले तीनकुनेको घटनामा सरकार आफ्नो न्यूनतम दायित्वबाट विमुख भएर घटनाको तथ्य बंग्याउन खोजिएको बताउँदै पीडित परिवारलाई उचित क्षतिपूर्ति प्रदान गर्न माग गरे।

सो अवसरमा पत्रकार राष्ट्रिय दबुका वरिष्ठ उपाध्यक्ष सुनिल महर्जनले निरंकुश सत्ताको निशाना सञ्चारगृह र सञ्चारकर्मी हुने तथ्य नौलो नभएको सन्दर्भ जोड्दै घटनामा अनेक प्रश्न अनुत्तरित रहेकाले त्यसलाई बाहिर ल्याउन बलियो आयोग गठन गर्न माग गरे। गृह प्रशासनले आन्दोलनमा मारिने सविन महर्जन र सञ्चारकर्मी रजकको परिवारसमक्ष पुगेर पीडित परिवारप्रति मलम लगाउन र क्षतिपूर्ति दिन प्रतिबद्धता देखाउने काम नगरेको पनि उनको भनाइ थियो।

सो अवसरमा पत्रकार राष्ट्रिय दबुका संस्थापक अध्यक्ष श्रीकृष्ण महर्जन र महासचिव केके मानन्धरले पनि तीनकुने घटनाबारे आ–आफ्नो भनाइ राखेका थिए।  

प्रकाशित: १८ चैत्र २०८१ ०९:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App