लमजुङ प्रहरीले बेँसीसहर नगरपालिका-९ का वडाध्यक्ष खुशीजङ गुरुङसहित चार जनालाई नियन्त्रणमा लिएको छ।
फागुन १८ गते प्रथम खेलकुद महोत्सवको अन्तिम दिन मादक पदार्थको नशामा कुटपिट र अभद्र व्यवहार गरेको आरोपमा उनीहरूलाई आइतबार बिहान पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रेशम बोहराले जाहेरीका आधारमा पक्राउ पुर्जी जारी गरी उनीहरूलाई नियन्त्रणमा लिइएको जानकारी दिए।
“मादक पदार्थ सेवन गरी कुटपिट गरेको उजुरी परेको थियो। वडाध्यक्षको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको हो,” उनले नागरिक न्युजसँग भने।
घटनापछि फागुन २५ गते अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता भए पनि आरोपितहरू फरार थिए। प्रहरीले उनीहरूलाई पक्राउ गरेपछि जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी बोहराले जानकारी दिए।
प्रकाशित: १७ चैत्र २०८१ १९:०७ आइतबार