बराहताल गाउँपालिका–१ श्रीचौरकी अमृता टमट्टाको तल्लो पेट दुख्न थालेको दुई वर्ष भयो। अरू बेला महिनावारीका बेला मात्रै उनको तल्लो पेट दुख्ने समस्या थियो। पछिल्ला दुई वर्ष उनले यो समस्या निरन्तर भोगिन्। आफ्नो समस्या श्रीमान्लाई सुनाउन पनि उनलाई लाज लाग्थ्यो ।
‘श्रीमान्लाई यस्तो समस्या भनेमा उल्टै गाली गर्नुहुन्छ कि भन्ने लाग्यो। भनेको भए त अस्पतालसम्म लगेर जान्थे कि ?’ टमट्टाले भनिन्, ‘लाजले समस्या दबाइरहेँ भन्न सकिनँ।’
बराहताल गाउँपालिका–१ भेरी नदीपारिको डाँडाको बस्ती हो। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरसँगै जोडिएको बराहतालका चारवटा वडाहरू अझै सडकसँग जोडिएका छैनन्। भेरी नदीमाथि पुल नहुँदा वर्षौदेखि यहाँका नागरिक यातायातको पहुँच बाहिर छन्। यातायातका साधन चढ्न घण्टौं लगाएर भेरी नदी पार गर्नुपर्ने बाध्यता छ।
यस्तोमा उपचारका लागि उनी एक्लै सदरमुकाम वीरेन्द्रनगरसम्म आउन सक्ने कुरा भएन। ‘घरबाट गएर एकै दिनमा उपचार गरेर फर्किन सकिँदैन,’ उनले भनिन्, ‘बास बस्नलाई वीरेन्द्रनगरमा आफन्त छैनन्, होटलमा बसेर उपचार गर्नसक्ने आर्थिक हैसियतमसँग छैन।’
यातायातले नछोएको भेरीपारिका जनताका लागि नेपाली सेनाको कालीबहादुर गणले शनिबार बृहत् स्वास्थ्य शिविर आयोजना ग¥यो। टमट्टाले स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. ललितजंग शाहीसँग आफ्ना समस्या राखिन्।
डा. शाहीले शिविरस्थलमै अल्ट्रासाउन्ड (भिडियो एक्स–रे) गरे। ‘समयमै चिकित्सकसँग परामर्श लिएको भए अहिलेसम्म उहाँ समस्यालाई मनमा लुकाएर बस्नुपर्ने अवस्था थिएन,’ डा. शाहीले भने, ‘आवश्यक औषधि लेखिदिएको छु, उहाँमा अहिले देखिएको समस्या चाँडै समाधान हुन्छ ।’
बराहताल–१ कि चन्द्रा थापामगर गाउँमा सेनाको स्वास्थ्य शिविर सञ्चालन हुँदै छ भन्ने थाहा पाएपछि शनिबार बिहानै शिविरस्थल आइपुगेकी थिइन्। वर्षौदेखि पेटको समस्याबाट पीडित चन्द्राले पहिलो पटक आफ्नो गाउँनजिकै विशेषज्ञ चिकित्सकसँग स्वास्थ्य जाँच गराउन पाइन्।
‘आफ्नै गाउँमा निःशुल्क तथा सहज स्वास्थ्य परीक्षण गराएँ, औषधि पनि दिनुभएको छ,’ उनले भनिन्, ‘विशेषज्ञ डाक्टरसँग गाउँमै उपचार गराएर औषधि पाएँ, अब सञ्चो हुने आशा पलाएको छ ।’
प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. शाहीले शिविरमा आए। अधिकांश महिलाहरूको पाठेघरमा मुखको संक्रमण देखिएको बताए। महिनावारीमा अत्यधिक रगत बग्ने र पाठेघर खसेका महिलाहरूले सेवा लिएको उनको भनाइ छ। रानीघाटमा भएको एक दिने स्वास्थ्य शिविरमा ४५१ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो। तीमध्ये ७२ जनाको भिडियो एक्स–रे गरिएको थियो।
शिविरमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. शाही, बालरोग विशेषज्ञ डा. त्रिभुवन भट्टराई, सेनाका सहसेनानी डा. सचित थापा, अभिनाश बस्नेत, सुर्खेत आँखा अस्पतालका निर्देशक डा. मन्जु पन्त र नेत्र सहायक बविता पुनले स्वास्थ्य परीक्षण र उपचार सेवा दिएका थिए।
शिविरमा प्रसूति तथा स्त्रीरोग, आँखासम्बन्धी समस्या, बाल रोगसम्बन्धी समस्या, जनरल सर्जरी, अन्य साधारण रोगको जाँच, उपचार तथा औषधि उपचार गरिएको थियो। गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका दुर्गम गाउँमा पुगेर सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको गणपति प्रमुख सेनानी शैलेन्द्र सिलवालले बताए।
नेपाली सेना राष्ट्रको रक्षामा मात्र सीमित नभई नागरिकको सेवामा पनि उत्तिकै संलग्न रहँदै आएको बताए। ‘नेपाली सेना संविधानले दिएको राष्ट्र सुरक्षाको जिम्मेवारीसँगै नागरिक सेवामा पनि समर्पित छ,’ उनले भने, ‘स्वास्थ्य शिविरजस्ता कार्यक्रमहरूमार्फत हामी नागरिक र सेनाबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन चाहन्छौं।’
प्रकाशित: १७ चैत्र २०८१ १०:२० आइतबार