२१ चैत्र २०८१ बिहीबार
image/svg+xml ४:१७ पूर्वाह्न
समाज

मिथिला क्षेत्रमा चाडपर्वको रौनक : वासन्ती नवरात्र, चैती छठ र इदको संगम

फाइल तस्बिर

मधेसको प्राचीन मिथिला क्षेत्र चैत शुक्लपक्ष सुरु भएसँगै चाडपर्वले भरिएको छ। आज चैत शुक्ल प्रतिपदाबाट वासन्ती नवरात्र सुरु भएको छ। यो समयमा हिन्दू मैथिल परम्पराअनुसार चैती छठ पनि मनाइन्छ। यो पटक वासन्ती नवरात्रभित्रै इस्लाम धर्मावलम्बीको ठूलो चाड इद पनि परेकाले यो क्षेत्र चाडपर्वमय भएको छ।

हिन्दू मैथिलहरू अहिले वासन्ती नवरात्रको तयारीमा जुटेका छन्। चैत शुक्ल प्रतिपदाबाट सुरु हुने यो नवरात्रमा मधेसको महोत्तरीलगायत मिथिला क्षेत्रका देवी शक्तिपीठ र मन्दिरमा आज घटस्थापना हुँदै छ।

चैत शुक्ल प्रतिपदादेखि नवमीसम्म नौ दिन चल्ने वासन्ती नवरात्रमा हरेक दिन नवदुर्गाको पूजा गरिन्छ। हिन्दू परम्परामा वर्षमा दुई पटक नवरात्र मनाइन्छ। असोज शुक्ल प्रतिपदादेखि नवमीसम्मको शारदीय नवरात्र र चैत शुक्ल प्रतिपदादेखि नवमीसम्मको वासन्ती नवरात्र। दुवै नवरात्रमा नवदुर्गा भवानीको पूजा उस्तै तरिकाले गरिन्छ। 

शारदीय नवरात्रपछि दशमीदेखि पूर्णिमासम्म टीका लगाउने चलन हुन्छ, तर वासन्ती नवरात्रमा यो चलन छैन। नवरात्रको पहिलो दिन नयाँ माटाको घडामा पूर्णकलश राखेर नवदुर्गाको पूजासँगै चण्डी पाठ गरिन्छ। नौ दिनसम्म देवी दुर्गाका नौ रूप शैलपत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजा हुन्छ।

नवरात्र सुरु भएसँगै मिथिलाका शक्तिपीठमा देवीका भजन गुञ्जिन थालेका छन्। महोत्तरीको बर्दिबासस्थित पञ्चधुरा माई मन्दिर, औरहीको भोइलस्थित सोनामाई मन्दिर र जलेश्वरस्थित राजदेवी माई मन्दिरमा वासन्ती नवरात्रका लागि विशेष पूजाको तयारी छ। जलेश्वरनाथ महादेव मन्दिर परिसरको त्रिशूली देवी मन्दिर पनि आजदेखि दर्शनका लागि खुल्छ। यो मन्दिर शारदीय र वासन्ती नवरात्रमा मात्र सर्वसाधारणका लागि खोलिन्छ।

मिथिलामा वासन्ती नवरात्रभित्रै चैती छठको पनि तयारी चलिरहेको छ। मैथिल हिन्दू परम्परामा छठ पनि वर्षमा दुई पटक मनाइन्छ। कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्मको शारदीय छठ र चैत शुक्ल चौथीदेखि सप्तमीसम्मको वासन्ती छठ। यो पटक नवरात्रभित्रै इस्लाम धर्मावलम्बीको मुख्य चाड इद पनि परेकाले मिथिला क्षेत्र चाडपर्वको उल्लासमा डुबेको छ। रासस

प्रकाशित: १७ चैत्र २०८१ ०९:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App