संघीयता कार्यान्वयनसँगै नेपालमा अहिले तीन तहको सरकार छ। ‘सिंहदरबार’को अधिकार गाउँगाउँ पुगेको छ। तीन तहका सरकारमध्ये स्थानीय तह जनताको सुख–दुखको सबैभन्दा नजिकको सरकार हो। आम नागरिक नजिकको सरकारसँग पनि सन्तुष्ट देखिँदैनन्। तर केही स्थानीय तहमा जनप्रतिनिधिले गरेका कामबाट जनताले आशा पनि गरिरहेका छन्।
मुगुको छायानाथ रारा नगरपालिकाका मेयर विष्णु भामले गरिरहेको काम हेर्दा लाग्छ, स्थानीय सरकारलाई त्यसै ‘चुलो’को सरकार भनिएको होइन। श्रमदान अभियानमार्फत उनले जनताको घरआँगनमा पुगेर काम गरिरहेका छन्।
कर्णालीको दुर्गममध्येकै एक छायानाथ रारा नगरपालिकामा उनले नगर बस चलाएका छन्, सामाजिक परिवर्तनका लागि कानुन बनाएर कार्यान्वयन गरिरहेका छन्। विद्यालय शिक्षा सुधारमा पनि पनि नगारपालिकामा देखिने गरी काम भएका छन्।
मेयर भामले आफू निर्वाचित भएदेखि नै प्रत्येक शनिबार दुई घण्टा श्रमदान अभियान सञ्चालन गरिरहेका छन्। उनलाई साथ दिने स्थानीयको संख्या पनि बढ्दो छ। ‘सुरुसुरुमा फोटो खिचाउन ढुंगा बोक्यो भन्नेहरूले अहिले आफैं आएर ढुंगा बोक्न थाल्नुभएको छ,’ श्रमदान अभियान सञ्चालनताकाको स्मरण सुनाउँदै भामले भने, ‘मेरो नगरपालिकामा हरेक शनिबार जनताबाट श्रमदान हुन्छ। श्रमदानबाटै विभिन्न टोलमा २३ वटा धारा, १५ वटा पाटीपौवा र १५ ठाउँमा गोरेटो बाटो निर्माण गरिएको छ।’
नगरपालिका क्षेत्रमा प्रत्येक शनिबार हुने श्रमदानमा दुईतीन सयजनाको सहभागीता हुन्छ। श्रमदानमा खाना–खाजा सरकारी ढुकुटीबाट खर्च हुँदैन। ‘स्थानीयले नै सहयोग गर्नुहुन्छ, कसैले खाना–खाजाका लागि सहयोग गर्नुहुन्छ, कसैले नगदै सहयोग गर्नुहुन्छ,’ मेयर भामले भने, ‘एक जनप्रतिनिधि इमानदारीसाथ जनताको सेवामा लाग्यो भने सहयोगी हातहरूको कमी हुँदैन भन्ने मेरो अहिलेसम्मको अनुभव हो।’
उनले श्रमदान अभियानअन्तर्गत भएको आय–व्यय विवरण सामाजिक सञ्जालमार्फत तत्कालै सार्वजनिक गर्छन्। केही समयअघि नगरपालिका–११ रोवा लहपानी नाउलामा सार्वजनिक धारो निर्माण भयो। धारा निर्माणमा २६ हजार एक सय रुपैयाँ खर्च भयो। त्यसमा १२ हजार एक सय रूपैयाँ नगरपालिकाको खर्च भयो भने बाँकी श्रमदान र सहयोगीले बेहोरे।
‘यो धारा निर्माणका लागि श्रमदानमा खटिएका स्वयंसेवीहरूका लागि वडा कार्यालयले दुई हजार रूपैयाँमा ५० केजी आलु किनेर दियो, आठ हजार एक सय रूपैयाँमा छ बोरा सिमेन्ट र दुई हजारमा दुई लिटर रङ नगरपालिकाले किन्यो,’ उनले भने, ‘बाँकी सबै सहयोग श्रमदानमार्फत जुटाएका थियौं।’
उक्त धारा निर्माण गर्न बालुवा ढुवानीका लागि स्थानीय गोविन्द भामले पाँच हजार रूपैयाँ सहयोग गरेका थिए। पाइप खरिदका लागि जितेन्द्र कुमाईले सहयोग गरे भने श्रमदानका लागि खटिएका ५० जनालाई ओहोरदोहोर गर्न जीवन रोकायाले ट्याक्टरको खर्च बेहोरे। यस्तै सहभागीका लागि रञ्जना कर्णले दुई हजारको खाजा खर्च बेहोरिन्। ‘धारा निर्माण गर्दा ३० बोरा बालुवा, तीन चट्टा ढुंगा, २० बोरा गिटी लाग्यो,’ मेयर भामले भने, ‘यो सबै श्रमदानबाट जुटेको थियो।’
नेपाली समाजमा श्रमदान परम्परा पुरानै हो। ‘गाउँघरमा सामाजिक काम गर्दा मात्रै होइन, खेतीकिसानी गर्दा, व्यक्तिको घर निर्माण गर्दा पनि पर्म लगाउने परम्परा छ,‘ मेयर भामले भने, ‘अहिलेको श्रमदान अभियान पनि पर्मकै परिमार्जित रूप हो।’ उनले गोरेटो बाटो, नाला, कुलो, धारा, पाटीपौवा बनाउन श्रमदान अभियान सुरु गरिएको बताए।
छायानाथ रारा नगरपालिकाका प्रशासकीय अधिकृत पशुपति शाहीले श्रमदान गर्न चाहने मानिसको संख्या दिनदिनै बढ्दै गएको बताए। ‘आफ्नै गाउँठाउँको विकासका लागि श्रमदान संस्कृति विस्तार हुने क्रममा छ,’ उनले भने।
उपमेयर ऐश्वर्य मल्लले श्रमदानका कारण नगरपालिकामा देखिनेगरी विकास भएको बताइन्। ‘पैसा नभए काम नगर्ने हाम्रो संस्कार नै भइसकेको थियो,’ उनले भनिन्, ‘आफ्नो गाउँठाउँ बनाउन सरकारको मात्रै मुख ताक्नु हुन्न भन्ने अनुभूति हामीले श्रमदान अभियानमार्फत गरेका छौं, यसले केही सुधारको संकेत पनि गरेको छ।’
मेयर भामले आफ्नो साप्ताहिक कार्ययोजना बनाउँछन्। उनी आइतबार, सोमबार, बुधबार र बिहीबार कार्यालयमा हुन्छन् भने शुक्रबार सरसफाइ र शनिबार श्रमदान गर्छन्।
एमाले मुगुका अध्यक्ष पूर्णबहादुर रोकाया मेयर भामले सुरु गरेको श्रमदान अभियानलाई राम्रो संकेत मान्छन्। ‘नागरिकको नजिकको सरकार स्थानीय तह हो,’ उनले भने, ‘नागरिकसँग जोडिएर गरिने हरेक कामलाई राम्रो मान्नुपर्छ।’
नेकपा माओवादी केन्द्र मुगुका संयोजक सुकवीर बुढा भने मेयरले लोकिप्रिय हुन श्रमदान अभियान सुरु गरेको बताउँछन्। ‘जनश्रमदानबाट उनी पपुलर हुन चाहन्छन्,’ बुढाले भने, ‘बिनायोजनाको यो काम कति दिगो हुने हो थाहा छैन।’
प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डे दुर्गममा यसरी श्रमदान अभियान सञ्चालन हुनु राम्रो भएको बताउँछन्। ‘स्थानीय सरकारले गरेको राम्रो कामलाई जनताले पनि साथ दिएका छन्,’ उनले भने, ‘यसैगरी सबै जनप्रतिनिधि जनतासँग जोडिएर काम गर्दा यो व्यवस्थाप्रति नागरिकको विश्वास बढेर जान्छ।’
कर्णाली प्रदेशको राजधानीको सहर वीरेन्द्रनगरमा नगर बस सञ्चालन छैन। मेयर भामले छायानाथ रारा नगरपालिकामा नगर बस सञ्चालन गरिरहेका छन्। ‘अहिले दुईवटा बसबाट नागरिकलाई सेवा दिइरहेका छौं, अरू दुईवटा बस थप्ने योजना छ,’ मेयर भामले भने, ‘प्रदेश राजधानी वीरेन्द्रनगरमा नगर बस सञ्चालन हुन सकेको छैन तर हामीले दुर्गममा नगर बस सञ्चालन गरेर सेवा दिइरहेका छौं।’
नगर बसबाट स्थानीयले ठुलो राहत पाएका छन्। सार्वजनिक यातायातले एक हजार भाडा लिने ठाउँमा नगर बसले दुई सयमै पुर्याउने गरेको छ। ‘बसचालक र सहचालकलाई तलब, इन्धन र मर्मत खर्च मात्रै पुग्ने गरी बस सञ्चालनमा ल्याएका हौं,’ मेयर भामले भने, ‘जनतालाई सेवा दिन नगर बस चलाएकाले फाइदा हेर्दैनौं।’
नगरपालिकाले दलित सशक्तीकरण ऐन बनाएर कार्यान्वयनमा ल्याएको छ, अन्तरजातीय विवाह गर्ने जोडीलाई एक लाख रूपैयाँ प्रोत्साहनस्वरूप दिने गरेको छ। दलित समुदायमाथि हुने विभेदका घटनामा वकालत र बहस पैरवी पनि नगरपालिकाले गरिरहेको छ। यहाँका एक हजार २७६ दलित परिवारलाई दलित भत्ता नगरपालिकाले दिने गरेको छ। नगरपालिकाले दलित बालबालिकाको खातामा प्रत्येक वर्ष २५ सय रूपैयाँ जम्मा गरिदिन्छ।
‘यो रकम बढाएर आगामी आर्थिक वर्षदेखि पाँच हजार पु¥याउने लक्ष्य लिएका छौं,’ मेयर भामले भने, ‘दलित सशक्तीकरण ऐन बनाएर कार्यान्वयन गर्ने यो पहिलो नगरपालिका हो।’
नगरपालिकाले दलित समुदायका लागि ‘दलित सामुदायिक भवन’ पनि बनाएको छ। नगरपालिकामा ४४ वटा विद्यालय छन्। सबै विद्यालयको नयाँ भवन बनाउने अभियान चलाइएको छ। ‘हालसम्म २३ वटा विद्यालयको नयाँ भवन बनाएका छौं,’ मेयर भामले भने, ‘अब बाँकी कार्यकालमा सबै विद्यालयको पक्की भवन बनाउँछौं।’
रारा कर्णालीकै प्रमुख पर्यटकीय स्थल हो। छायानाथ मन्दिर र राराको नामबाट नगरपालिकाको नामाकरण गरिएको हो। रारामा आउने बाह्य पर्यटकका लागि पर्यटन प्रहरी राख्ने निर्णय नगरपालिकाले गरेको छ। ‘पर्यटन प्रहरी बस्नका लागि भवन निर्माण नगरपालिकाले गर्दैछ,’ मेयर भामले भने, ‘केही महिनामै सातजना पर्यटन प्रहरी रारामा बस्नुहुन्छ, यसले बाह्य पर्यटकलाई धेरै सहज हुनेछ।’
स्थानीय परिकार र स्थानीय रोजगारी सिर्जना गर्न गमगढीमा एक बास अभियानको सुरुवात गरेको जानकारी दिँदै उनले भने, ‘रारा घुम्न आउने पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय रोजगारी सिर्जना गर्ने यसको उद्देश्य हो।’ नगरपालिकाले रारा ताल नजिकैको मिलिचौरमा गल्फ कोर्स बनाउने तयारी पनि थालेको छ।
मेयर भामले अहिलेसम्म सरकारी सुविधा लिएका छैनन्। कार्यालयमा जार र मिनरल पानी बन्देज गरिएको छ। कर्मचारीले आफूलाई खान घरबाटै पानी ल्याउनुपर्ने व्यवस्था गरिएको छ। पालिकाले गर्ने र पालिकाका प्रतिनिधि सहभागी हुने कार्यक्रममा ब्याच र रिवनको प्रयोग निषेध गरिएको छ। ‘ब्याचको सट्टा पिपलको पातमा अतिथि लेख्ने व्यवस्था गरिएको छ,’ उनले भने, ‘प्लास्टिकका फूल, खादा, ब्याच र रिवन पूर्ण रूपमा निषेध गरेका छौं।’
प्रकाशित: १६ चैत्र २०८१ ०८:१२ शनिबार