राजावादी र समाजवादी मोर्चाको प्रदर्शनका कारण आज बिहानैदेखि काठमाडौँ उपत्यकाको यातायात प्रभावित भएको छ।
दुवै पक्षको र्याली र सभाका कारण काठमाडौँका मुख्य सडकमा यातायात प्रभावित भएको हो। समाजवादी मोर्चा नेपालले काठमाडौँको प्रदर्शनीमार्गमा बनाएको मञ्चका कारण सो क्षेत्रमा बिहानैदेखि सवारी साधनहरू आवतजावतमा रोक लगाइएको छ।
रत्नपार्कदेखि भद्रकालीसम्म र प्रदर्शनीमार्ग, भृकुटीमण्डपको सडक पूर्ण रूपमा बन्द गरिएको छ। त्यस्तै काठमाडौँको तीनकुने, बानेश्वर, माइतीघर लगायतका क्षेत्रमा यातायात अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ।
उक्त क्षेत्रको यातायात प्रभावित भएपछि सवारी साधनलाई डाइभर्सन गरिएको छ। जसका कारण अन्य क्षेत्रमा सवारी जाम भएको ट्राफिक प्रहरीले जनाएको छ।
दिउँसोबाट काठमाडौँको तीनकुनेमा राजावादीहरूले र भृकुटीमण्डपमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रदर्शन गर्न लागेका हुन्।
दुवै पक्षधरले एकअर्काविरुद्ध प्रदर्शन गर्दै छन्। आन्दोलनका लागि तयारी जारी राखेका छन्। अधिकांश स्थानमा प्रहरी चेकिङ मजबुत बनाइएको छ। त्रिपुरेश्वरदेखि नै रत्नपार्कतिर जाने सडक बिहानैदेखि बन्द गरिएको छ भने अन्य स्थानमा नागरिकको सुरक्षार्थ प्रहरीले सुरक्षा मजबुत बनाएको छ।
आजको जनप्रदर्शनमा समाजवादी मोर्चाले १ लाख बढी मानिसहरू उतार्ने दाबी गरेको छ। आजको जुलुसलाई दुवै पक्षले शक्ति प्रदर्शनको रूपमा लिएका छन्।
प्रकाशित: १५ चैत्र २०८१ ११:१५ शुक्रबार