नेपाली कांग्रेसको भातृ सङ्गठन राष्ट्रिय लोकतान्त्रिक अपांग संघका ६ प्रदेशका अध्यक्ष र सुदूरपश्चिमका संयोजकले संघको केन्द्रीय महाधिवेशनका सन्दर्भमा भएका टीकाटिप्पणीप्रति चिन्ता व्यक्त गरेका छन्।
गत चैत ८ गते सम्पन्न संघको निर्वाचनबाट माधव चाम्लागाईंको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको थियो। अध्यक्ष पदका आकांक्षी विकास थापा र कल्पना खड्काले आफू पराजित भएपछि विभिन्न आरोप लगाउँदै समानान्तर समिति घोषणा गरेका थिए।
६ प्रदेश अध्यक्ष र सुदूरपश्चिमका संयोजक नगेन्द्र प्रसाद जोशीले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरी निर्वाचनको औपचारिक प्रक्रियामा सहभागी भई हार बेहोर्न नसकेका केही व्यक्तिहरूले अधिवेशनलाई बदनाम पार्ने नियतले तथ्यहीन प्रचार, तोडफोड र धम्की जस्ता अनुचित क्रियाकलापहरू गरेको आरोप लगाएका छन्।
चाम्लागाईं नेपाली कांग्रेसका महामन्त्री गगन थापा पक्षीय हुन् भने थापा डा. शेखर कोइराला र खड्का प्रकाशशरण महत पक्षधर हुन्।
संघका कोशी प्रदेश अध्यक्ष गोपालमान थापा, मधेश प्रदेश अध्यक्ष जयप्रकाश ठाकुर, बागमती प्रदेश अध्यक्ष प्रेम लामा, गण्डकी प्रदेश अध्यक्ष शंकर पराजुली, लुम्बिनी प्रदेश अध्यक्ष पूर्णप्रसाद कालाथोकी, कर्णाली अध्यक्ष जानकी पुन र सुदूरपश्चिम संयोजक नरेन्द्रप्रसाद जैशीले संयुक्त रूपमा हस्ताक्षर गरी प्रकाशित विज्ञप्ति खण्डन गरेका छन्। उनीहरूले महाधिवेशनको सम्पूर्ण प्रक्रिया नेपाली कांग्रेस केन्द्रीय कार्यालय, निर्देशन समिति र निर्वाचन समितिको समन्वयमा निष्पक्ष, पारदर्शी र लोकतान्त्रिक पद्धतिबाट सम्पन्न भएको बताएका छन्।
विज्ञप्तिमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री आदरणीय शेरबहादुर देउवाको निर्देशनमा प्रकाश पन्थको अध्यक्षतामा गठित १७१ सदस्यीय तदर्थ समितिले केन्द्रीय महाधिवेशन सम्पन्न गरी लोकतान्त्रिक ढंगले नयाँ नेतृत्व चयन गरेको उल्लेख छ। संघको छवि धमिल्याउने, प्रतिनिधिहरूको सम्मानमा आघात पुर्याउने र अपांगता भएका व्यक्तिहरूको हक र अधिकारको अभियानमा बाधा पुग्ने कुनै पनि गतिविधि सह्य हुने पनि विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित: १३ चैत्र २०८१ १२:४४ बुधबार





