१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ७:४७ पूर्वाह्न
समाज

ट्यांकरको ठक्करबाट दाजु-भाइको मृत्यु : तनाव साम्य, शव सडकमै

घटनास्थलमा थप प्रहरी परिचालन

बाँकेको बेतहनीमा ट्यांकरले ठक्कर दिँदा दुई बालकको मृत्यु भएपछि उत्पन्न तनाव साम्य भएको छ।

डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनी चोकमा आइतबार (आज) अपराह्न साढे ३ बजेतिर भे १ ख ४१०७ नम्बरको पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा ९ वर्षका विशाल गोडिया र ७ वर्षीय शिवकुमार गोडियाको घटनास्थलमै मृत्यु भएको थियो।

स्थानीयका अनुसार दुबै जना सहोदर दाजुभाइ हुन्। मृतक दाजुभाइ बेतहनीमा रहेको नौरीगढी ऐकेडेमीमा अध्ययनरत थिए।

स्कुलबाट फर्किँदै गर्दा बेतहनी चोकमा ट्यांकरले उनीहरूलाई ठक्कर दिएको थियो। प्रहरीका अनुसार ठक्करबाट दाजुभाइको तत्कालै मृत्यु भएको थियो। घटनापछि स्थानीय बासिन्दाले ट्यांकर र प्रहरी चौकी बेतहनीमा आगजनी गरेका थिए।

आगजनीबाट ट्यांकरमा पूर्ण रूपले जलेको छ भने प्रहरी चौकीमा आंशिक रूपमा क्षति भएको छ। उक्त क्षेत्र करिब चार घण्टासम्म अवस्था तनावपूर्ण रह्यो। प्रहरी र स्थानीय बासिन्दाबीच झडप भएको थियो। स्थानीयले चालकलाई सार्वजनिक गर्नुपर्ने र आफूहरूलाई जिम्मा लगाउनुपर्ने माग राखेका थिए। तर, प्रहरीले सुरक्षाका लागि चालकलाई प्रहरी चौकीमा लगेर राखेपछि स्थानीयहरू प्रहरीमाथी आक्रोशित भएका हुन्।  

घटनास्थलमा थप संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन भएपछि स्थिती नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

घटनास्थलदेखी करिव ३ किलोमिटर टाढा पुरैना बिर्ता क्षेत्रमा प्रहरीका सवारी साधनहरू रोकेर सुरक्षा जनशक्ती परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दिपक पातलीले ट्यांकरको ठक्करबाट दुईजना बालकको घटनास्थलमै मृत्यु भएपछि करिब ४ घण्टासम्म अवस्था तनावग्रस्त बनेको बताए। उनले अहिले स्थिति नियन्त्रणमा आइसकेको जानकारी दिए।  

‘अहिले अवस्था सामान्यतर्फ उन्मुख छ,’ उनले नागरिकसँग भने, 'सुरक्षाकर्मीको संख्या बढाएर घटनास्थललाई नियन्त्रणमा लिएका छौँ।’

स्थानीयले प्रहरी चौकीमा ढुंगामुढा गरेपछि प्रहरीले दर्जनौ सेल अश्रुग्यास र हवाई फायर गरेको थियो। स्थानीयले प्रहरीहरूलाई लखेटेका थिए। त्यस क्रममा केही प्रहरी र स्थानीय बासिन्दा घाइतेसमेत भएका छन्। मृतकका परिवार र स्थानीयले बालकको शव सडकमै राखेका छन्।

प्रकाशित: १० चैत्र २०८१ २०:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App