२० चैत्र २०८१ बुधबार
image/svg+xml २०:८ अपराह्न
समाज

बेतहनीमा ट्यांकरको ठक्करबाट २ बालकको मृत्यु, स्थिति तनावग्रस्त

बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २ बेतहनीमा पानी बोक्ने ट्याङ्करले ठक्कर दिँदा दुई जना बालकको घटनास्थलमै मृत्यु भएको छ ।

आइतबार अपराह्न साढे ३ बजेतिर भे१ ख ४१०७ नम्बरको ट्याङ्करले स्थानीय विशाल गोडिया र शिवकुमार गोडियाको मृत्यु भएको थियो ।

स्थानीयका अनुसार दुबै जना बेतहनीको नौरीगढी एकेडेमीमा एल.के.जी.मा  अध्ययनरत थिए । स्कुलबाट फर्किँदै गर्दा बेतहनी चोकमा ट्याङ्करले उनीहरूलाई ठक्कर दिएको थियो । ठक्करबाट सुरुमा सडकमा लडेर चिच्याउँदै गर्दा पछि ट्याङ्करले किचेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

प्रहरीका अनुसार दुबै जना अन्दाजी ९/१० वर्षका सहोदर दाजु भाइ हुन । घटनापछि स्थानीय बासिन्दाले ट्यांकरमा आगजनी गरिदिएका छन् । घटनास्थल तनावग्रस्त बनेको छ । प्रहरी र स्थानीय बासिन्दाबिच झडप भइरहेको छ । चालकलाई कारबाहीको माग गरेका स्थानीय बासिन्दाले प्रहरी चौकी बेतहनीलाई घेराउ गरेका छन् । अहिले स्थानीयले चौकीमा समेत आगजनी गरिदिएका छन् ।

प्रहरीले चालकलाई लुकाएको भन्दै उनीहरू आक्रोशित भएका हुन । अहिले ठुलो संख्यामा प्रहरी र स्थानीय बासिन्दा जम्मा भएका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम डिएसपी  दिपक पातलीले ठक्करबाट दुई जना बालकको घटनास्थलमै मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको बताए ।

'अहिले स्थिति तनावग्रस्त छ, आउट अफ कन्ट्रोलको स्थिति छ,' उनले नागरिकसँग भने । घटनास्थलमा प्रहरीले दर्जनौँ सेल अश्रुग्याँस र हवाई फायर गरेको छ। स्थानीयले बालकको शव सडकमै राखेर प्रदर्शन गरेका छन् ।

प्रकाशित: १० चैत्र २०८१ १७:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App