बर्दिया राष्ट्रिय निकुञ्ज प्रशासनले दिगो संरक्षण अभियानलाई सार्थक बनाउन वन्यजन्तु र बस्तीको दिगो संरक्षणका लागि गरेको प्रयासको लामो इतिहास छ। सुरक्षा संवेदनशीलताका आधारमा निकुञ्जको कोर वन क्षेत्र, बाहिरी र भित्री क्षेत्र भनेर वर्गीकरण गरियो। चोरीसिकार नियन्त्रणको पहल पनि थालियो। त्यसका लागि बर्दिया राष्ट्रिय निकुञ्जले चोरीसिकार नियन्त्रण युवा परिचालन (सिबिएपियु) गठन गर्यो।
संवेदनशील क्षेत्रमा सुरक्षाकर्मीको दह्रो निगरानी हुने गरेको प्रमुख संरक्षाण अधिकृत अशोक राम बताउँछन्। तर उनले प्रमुख जिल्ला अधिकारी (प्रजिअ) र प्रहरी प्रमुखको समन्वय र सहयोगमा विवाह, पूजा र उत्सवका नाममा ठुलो आवाजमा गरिने डिजेइङलाई रोक्न सके मात्र वन्यजन्तु नबिच्किने बताए। जथाभाबी डिजेइङविरुद्ध बनाइएको नियम कडाइका साथ कार्यान्वयन गर्नुपर्ने टड्कारो आवश्यकता औंल्याए।
अबदेखि यस्ता उच्छृंखल गतिविधि रोक्न दबाबमूलक कार्यक्रम ल्याउने उनले बताए। तर विगतदेखि बस्ती र वन्यजन्तु सुरक्षित छन् भन्ने सन्देश निकुञ्जबाट स्वतःस्फूर्त रूपमा फैलने सन्देश अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउन नसक्दा पर्यटनमा ठुलो धक्का बेहोर्नुपरिरहेको छ।
निकुञ्ज सुरक्षाका लागि तीन घेरे रणनीति अख्तियार गरेर निकुञ्ज प्रशासनसँग लामो अनुभव सँगाले पनि मानव र वन्यजन्तु बिचको द्वन्द्वले सीमा नाघिसकेको छ। यसले निकुञ्ज प्रशासनले परम्परागत रूपमा अख्तियार गरेको दिगो संरक्षणको नीति असफल भइरहेको संकेत देखिरहेको छ। मानव र वन्यजन्तुबिचको द्वन्द्वबाट अब बर्दियाका स्थानीय र वन्यजन्तु सुरक्षित छैनन् भन्ने पुष्टि भएको छ।
ठाकुरबाबा नगरपालिका–१ बलातीमा केही दिनअघि बस्ती पसेको जंगली हात्तीले आक्रमण गर्दा ६० वर्षीय बलिराम थारूको ज्यान गयो। यो प्रतिनिधि घटनाको दृष्टान्त हो। गत फागुनमा शिव सामुदायिक वनमा गैंडाको आक्रमणबाट नेचर गाइडको मृत्यु भयो। मधुवन–१ मा बाघको आक्रमणबाट ६ जनाको ज्यान गइसकेको छ।
मानव र वन्यजन्तुबिचका घटना दोहोरिइरहेका–तेहेरिइरहेका छन्। सामुदायिक वनमा तीन हात्ती मृत अवस्थामा फेला परिसकेका छन्। निकुञ्ज प्रशासनका प्रमुख संरक्षण अधिकृत राम ती हात्ती प्राकृतिककारणले नै मरेको दाबी गर्छन्।
डिभिजन वन कार्यालयले केही दिनअघि गुलरिया–२ भवानी सामुदायिक वनमा वयस्क बाघ मृत अवस्थामा फेला पारेको छ। कुहिएको अवस्थामा भेटिएको पाटेबाघ किन मरेको भन्ने थप अनुसन्धानसमेत हुन नसकेको स्रोतको भनाइ छ।
मानव र वन्यजन्तुको द्वन्द्वका अरू धेरै कारण भए पनि प्रमुख कारण ध्वनि प्रदूषण भएको सिबिएपियु अभियानका अध्यक्ष हेमन्त आचार्यले बताए। उनका अनुसार पाताभार, गोला, पूर्व–पश्चिम राजमार्गअन्तर्गत रम्बापुर सैनवार र हुलाकी सडकअन्तर्गत कोठियाघाट र करिडोरमा मनपरी डिजेइङ गर्दा ध्वनि प्रदूषण भइरहेको छ।
किन बिच्चिकएका छन् बाघ र हात्ती
निकुञ्जवरिपरिका स्थानीयले विवाहोत्सव, पूजाजस्ता कार्यका लागि ठुलो स्वरमा बाजा बजाउने चलन व्याप्त छ। निकुञ्जले अनैतिक गतिविधि रोक्न कुनै प्रयास नगरेको गुनासो पनि छ। स्थानीय प्रशासनले समेत यस्ता ज्यादती रोक्ने काम कागजमै सीमित पार्ने गरिएको आरोप छ। कागजमा निर्णय भए पनि फिल्डमा काम देखिँदैन।
ध्वनि प्रदूषणले समस्या

बुरहान २०२५ का लागि विश्वका सयवटा घुम्नुपर्ने सूचीमा बर्दिया निकुञ्जसँग जोडिएको क्याम्प हो। मधुवन–१ डाँडागाउँको टाकुरोमा यो क्याम्प अवस्थित छ।
विश्वमा घुम्नुपर्ने सूचीमा परेका कारण बुरहान क्याम्प अवलोकन र अनुसन्धानका लागि धेरै पर्यटक आइरहेका छन्। गीत, डिजेइङका नाममा चर्को ध्वनि प्रदूषण भइरहेको छ।
संगीत र स्वर फरकफरक हुन् भन्ने बुझ पचाएर उनीहरूलाई दुःख दिने काम भइरहेको छ। उनीहरूको यहाँ आउनुको मुख्य उद्देश्य शान्त र मनोरम दृश्यावलोकन गर्नु हुन्छ। केही दिनअघि ध्वनि प्रदूषणका कारण दुई भूगर्भशास्त्रीले यहाँको बसाइ छोट्याए। यसरी बसाइ छोट्याउने अमिरिकी भूगर्भशास्त्री म्यारी हवर्ड, आरकिटेक्ट यरर्ड सरफान्ट थिए। यो घटना दृष्टान्त मात्र हो। यो घटनाले पर्यटनकर्मी निरुत्साहित हुँदै छन्।
वन्यजन्तुलाई पनि ध्वनि प्रदूषणका कारण खान र बस्न समस्या परिरहेको छ। ध्वनि प्रदूषणले वन्यजन्तुको सुरक्षामा समेत चुनौती थपेको छ। सर्वोच्च अदालतमा जनहित याचिका दर्ता गर्ने प्रक्रियामा छौं। ध्वनि प्रदूषण कानुन कार्यान्वयन भएको छैन। यो ऐन कार्यान्वयनमा ल्याउन जरुरी छ।
डिजेइङ आतंक रोक्छौं

उत्सवका नाममा गरिने गीत, डिजेइङको आतंक रोक्न प्रहरी परिचालन गरिएको छ। बुरहानको दिगो संरक्षणका लागि स्थानीय प्रशासनले अवैध गतिविधि रोक्न कही कतै कमजोरी गर्दैन। बुरहानमा प्रहरी पुग्दा डिजेइङको चर्को स्वर कम गरिए पनि प्रहरी फर्केपछि पुनः गल्ती दोहोर्याउने गरेको पाइएको छ। अब प्रत्येक स्थानीय तहलाई निर्णय गर्न लगाएर कारबाही प्रक्रिया अघि बढाउनुपर्ने देखिएको छ।
स्थानीय तहलाई बाध्यकारी बनाएर ध्वनि प्रदूषण नियन्त्रणका लागि निर्णय गर्न लगाउँछौं। अनैतिक गतिविधि गरेर संरक्षणमा असर पारेको भेटिए सामान बरामददेखि कानुनअनुसार कारबाही अघि बढाउँछौं।
नेपाल र भारतको सीमावर्ती क्षेत्रसँग जोडिएका बस्तीमा झन् डिजेइङको आंतक भइरहेको गुनासो आइरहेको छ। स्थानीय प्रशासनले भारतबाट ल्याएर विवाह उत्सवमा चर्को स्वरमा गरिने नाचगान रोक्ने काम गरिहेको छ। निकुञ्जको पर्यावरण खल्लबलाउने गतिविधि रोक्ने प्रयास तत्काल थाल्नेछौं। निकुञ्जमा डिजेइङका कारण ठुलो दुर्घटना हुन सक्छ। दोषीलाई क्षमा हुँदैन।
प्रकाशित: १० चैत्र २०८१ ०८:०१ आइतबार