१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ७:१८ पूर्वाह्न
समाज

चारलेन सडकमा ढकमक्क फुले फुल, बढ्दै फोटो खिच्नेको भिड

नेपालगन्जस्थित चारलेन सडकको ग्रिनबेल्टमा ढकमक्क फुलेका फुलहरू। तस्बिर: अर्जुन ओली / नागरिक

नेपालगन्जको चारलेन सडकअन्तर्गत सुर्खेतरोडको ग्रिनबेल्टमा ढकमक्क फुलेका फुलले सर्वसाधारणको ध्यान तानेका छन्।

फुलका मनमोहक दृश्य र भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। फोटो खिच्नेहरूको भीड दिनदिनै बढ्दै गएको छ।

चारलेन सडक विस्तारपछि ‘क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज’ अभियानअन्तर्गत संयोजक डा. बिनोद कर्णको नेतृत्वमा २०७२ सालमा अभियन्ताहरूले ‘बकमबेली’ लगायत विभिन्न प्रजातिका फुलका बिरुवा रोपेका थिए।

डा. कर्णका अनुसार पहिलो चरणमा चारलेन सडकको कारकाँदो चोकदेखि प्रहरी व्यायामशालासम्म, दोस्रो चरणमा विपी चोकदेखि गणेशमान चोक हुँदै वन कार्यालय सम्म र तेस्रो चरणमा विपी चोकदेखि वायुसेवा निगम कार्यालयसम्म रोपिएको थियो । त्यसपछि विपी चोकदेखि वन कार्यालय अगाडि सम्म बिरुवा रोपेका थिए । 

वायुसेवा निगमदेखि धम्बोझी चोकसम्म लायन्स क्लबले र धम्बोझी चोकदेखि प्रहरी व्यायामशालासम्मव्यवसायीहरूले बिरुवा रोपेर अभियानलाई साथ दिए । त्यसपछि थप स्थानमा होटेल, व्यापारिक प्रतिष्ठान तथा सामाजिक संस्थाले रोपेका थिए ।

साथै, नेपालगन्जका छाडा चौपायाबाट बिरुवा जोगाउनु अभियन्ताहरूका लागि चुनौती बनेको थियो। ‘हामीले पालैपालो पानी सिंचाइ गर्ने र चौपाया धपाउने काम गर्‍यौं,’ डा. कर्णले भने, ‘तर, स्थानीय निकायबाट पर्याप्त सहयोग पाउन सकेनौं।’

२०७४ सालमा जनप्रतिनिधि निर्वाचित भइसकेपछि उपमहानगरपालिकाले अभियन्ताहरूले रोपेका बिरुवा उखेलेर आफ्नै तरिकाले बिरुवा रोपेको थियो। उपमहानगरपालिकाले शिक्षा अस्पतालअगाडि अशोकको बिरुवा रोपे भने पुष्पलाल चोक आसपास ‘समी’का बिरुवा रोपिएको थियो।

डा. कर्ण भन्छन्, ‘हामीले रोपेका बकमबेली फुलका बिरुवा हुर्केको भए अहिले यो क्षेत्र झन् सुन्दर देखिन्थ्यो।’

खरानीजस्तै देखिएको चारलेन सडकको ग्रिनबेल्ट अहिले हराभरा भइसकेको छ। केही ठाउँमा बिरुवा मरेका छन्। जुन स्थानमा पुनः बिरुवा रोप्न आवश्यक छ। ‘भाइरल फुलका कारण अहिले नेपालगन्जको चर्चा भएको छ। अब न्यूरोडको ग्रिनबेल्ट र फुटपाथमा पनि फुल रोपेर शहरलाई अझ सुन्दर बनाउनु पर्छ,’ कर्णले भने। उनका अनुसार, अभियन्ताहरू मात्र होइन, उपमहानगरपालिकाले पनि नेतृत्व लिन जरुरी छ।

नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टका अनुसार, ग्रिनबेल्टमा हुर्किएका फुल तथा रुख बिरुवाको संरक्षणमा विशेष ध्यान दिइएको छ।

‘हामी आएपछि ग्रिनबेल्टका बिरुवा जोगाउन तारबार व्यवस्थापन र नियमित पानी सिंचाइ गरिरहेका छौं,’ उनले भने। साथै, बोटबिरुवाको सुरक्षाका लागि ट्री–गार्ड र रेलिङ जडान गरिएको जानकारी दिए। नगर सौन्दर्यकरणमा योगदान पुर्याएको भन्दै उनले ‘क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्ज’ अभियानलाई धन्यवाद दिए।

प्रकाशित: ९ चैत्र २०८१ १९:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App