माटोको लिपपोतले चिटिक्क सजिएको फुस्को घर। घरको एक कुनामा रंगीन चित्रले भरिएको कक्षा कोठा। कक्षाको भित्तामा वन्यजन्तुका चित्रसहित जानकारीमूलक पोस्टर। टेबलमा राम्ररी मिलाइएको वर्णमाला किताब।
रंगीचंगी चित्रले भित्ता सजिएको छ। वन्यजन्तुका तस्बिर र जानकारीमूलक पोस्टरले भित्ताका कुनालाई जीवन्त बनाएको छ।
बढैयाताल गाउँको त्यही कक्षाकोठामा उभिएर आफ्नो अनुभव सुनाइरहेका छन्, दश वर्षीय राम चौधरी। उनी मात्रै हैन, गाउँका अन्य बालबालिका पनि रमाइलो वातावरणमा पढाइमा मग्न छन्।
फुसको घरको कुनामा बनाइएको सो कक्षाकोठा वस्तीको सौन्दर्य मात्र हैन, भविष्य निर्माणको थलो समेत बनेको छ।

बढैयाताल, गुलरिया र मधुवनका ग्रामीण बस्तीहरूमा यस्ता दृश्य अब सामान्य बन्दै गएका छन्। एकनासका घरहरू, र तिनै घरको एक कुनामा बनाइएका चिटिक्कका कक्षा कोठा। घरका आमा-बुबा घरायसी काममा व्यस्त देखिए पनि यहाँका बालबालिका भने आफ्नै कक्षामा पढाइमा रमाइरहेका छन्।
‘हामी चुलोचौकोमै व्यस्त छौँ तर छोराछोरी पढाइमा लागेको हेर्दा मन खुसी हुन्छ,’ बढैयातालकी रामरानी चौधरी भन्छिन्, ‘हामी पढ्न पाइनौँ। तर, जस्तोसुकै दुःख गरेर भए पनि छोराछोरीलाई पढ्ने वातावरण बनाइदिएका छौँ। पहिला पढ्न मन नगर्ने बाबुनानीहरु कक्षाकोठा बनेपछि पढाइमा लोभिन थालेका छन्,’ उनले आफ्नो अनुभव सुनाइन्।
‘एक घर, एक पढाइ कुना’ अभियानअन्तर्गत बनाइएका ती कक्षाहरू अहिले बस्तीका गौरव बनेका छन्।
त्यस्ता घरको अनुगमनका लागि जिल्लाबाट शिक्षा विकास इकाइ प्रमुख सूर्यबहादुर खत्री, गुलरिया शिक्षा शाखा प्रमुख सतीश यादव र बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक गोविन्द लामिछानेको टोली शनिबार पुगेका थिए।
बस्तीका अभिभावकले घरको एक कुनालाई रमाइलो वातावरणमा रूपान्तरण गरेर सिकाई प्रभावकारी बनाएको इकाई प्रमुख खत्रीले बताए। ‘सस्तो र प्रभावकारी अवधारणा हो यो,’ प्रमुख खत्री भन्छन्, ‘ठूलो लगानी नगरीकनै बालबालिकाले रमाइलो वातावरणमा सिक्ने अवसर पाएका छन्।’
बालबालिकाले कक्षा कोठामा पढ्ने, खेल्ने, चित्र कोर्ने जस्ता गतिविधिमा भाग लिन्छन्। हरेक गतिविधिमा उनीहरूलाई जिम्मेवार बनाउनाले उनीहरू थप खुसी हुने गरेको अभिभावक सुनाउँछन्।
यो अभियान दुई वर्षअघि प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबले सुरु गरेको हो। गुलरिया, मधुवन र बढैयातालका १ हजार ५ अभिभावकलाई अभिभावक शिक्षा तालिम दिइएको थियो।
‘सिकाइलाई रमाइलो बनाउन घरमै कक्षा कोठाको अवधारणा ल्याएका हौं,’ संयोजक लामिछाने भन्छन्, ‘अब त गाउँभरि यस्तो दृश्य सामान्यजस्तै भइसक्यो।’
प्रकाशित: ९ चैत्र २०८१ १६:२१ शनिबार