१५ चैत्र २०८१ शुक्रबार
image/svg+xml १६:४५ अपराह्न
समाज

कृषि बालीमा बढ्यो रासायनिक विषादीको प्रयोग, वडाबाट विवरण संकलन सुरु

कृषि बालीमा रासायनिक विषादीको प्रयोग बढेपछि भरतपुरमा विषादी प्रयोगकर्ताको विवरण लिन थालिएको छ। भरतपुर महानगरपालिका वडा नम्बर–१५ ले विषादी न्यूनीकरणका लागि विषादी प्रयोग गर्ने किसानको विवरण संकलन गर्न थालेको छ।

कृषि बालीमा प्रयोग हुने रासायनिक विषादीले क्यान्सर जस्ता प्राणघातक रोग बढाएकाले विषादी प्रयोग घटाउन विवरण संकलन गर्न थालिएको भरतपुर–१५ का वडाध्यक्ष श्रीकृष्ण देवकोटाले बताए। चालु आर्थिक वर्षदेखि वडाले विवरण संकलन गरिरहेको छ। ‘विषादीको प्रयोग सकेसम्म कसैले गर्नुहुँदैन,’ उनले भने, ‘केही कम गर्न सकिन्छ कि भनेर विषादी प्रयोगकर्ताको विवरण बुझाउन भनेका छौँ।’ 

तराईबाट आएर तरकारी लगाउने किसानले प्रतिबन्धित विषादीसमेत प्रयोग गर्ने गरेको उनले बताए। ‘अहिले सुरुमा प्रयोगकर्ताको विवरण लिन्छौँ। त्यही विवरण पछ्याउँदै विषादी प्रयोग गर्ने किसानको घरमा गएर कुन विषादी प्रयोग गरेको छ हेर्छौँ,’ उनले भने, ‘मापदण्डविपरीत र दर्ताविना विषादी प्रयोग गरेमा मापदण्ड बनाएर कारबाही गर्छौँ।’ कृषि प्राविधिकबाट मूल्यांकन गरेर कारबाही सिफारिस गरिने उनले जनाए।

विषादीका कारण क्यान्सरका बिरामी बढेपछि निश्चित मापदण्ड बनाएर विषादी प्रयोगमा कडाइ गर्न लागिएको उनले बताए। भरतपुर–१५ लाई विस्तारै रासायनिक विषादीमुक्त वडा बनाउने लक्ष्य रहेको उनले सुनाए। अर्गानिक खेती गर्ने किसानलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याइएको उनले बताए। प्रतिबन्धित विषादीलाई पूर्ण नियन्त्रण गर्न सरकारलाई अनुरोध गरेको पनि उनले जनाए।

भरतपुर–१५ मा अर्गानिक खेती गर्ने किसानको संख्या बढ्दो छ। जिल्ला प्राङ्गारिक संघ चितवनका अनुसार यो वडामा अन्तर्राष्ट्रिय रूपमा प्रमाणीकरण भएका २५ किसान छन्। संघका अध्यक्ष चन्द्रप्रसाद अधिकारीले विषादीरहित दिगो कृषि सम्भव भएकाले वडाले ल्याएको मापदण्ड स्वागतयोग्य रहेको बताए। ‘हामी ३४ वर्षदेखि प्राङ्गारिक खेतीका लागि लडिरहेका छौँ। अहिले जनप्रतिनिधि पनि बाध्य भएर विषादी नियन्त्रणको कुरा उठाएका छन्,’ उनले भने, ‘बाध्यता भए पनि यो स्वागतयोग्य कुरा हो।’

कृषि बालीमा रासायनिक विषादी आवश्यक नपर्ने भन्दै उनले वनस्पति कुहाएर जैविक विषादी प्रयोग गर्न सकिने बताए। रासायनिक विषादीले माटोको अम्लियपन घटाउँदै उत्पादकत्व कम गर्ने उनले जनाए। ‘एकपटक विषादी राखेको जमिनमा अर्कोपटक उत्पादन लिन त्योभन्दा बढी डोज विषादी हाल्नुपर्छ,’ उनले भने, ‘माटो बिग्रिएपछि अन्तिम चरणमा विषादी हाले पनि उत्पादन लिन सकिँदैन।’ 

विषादीले मानव स्वास्थ्यमा असर पार्दै गएको उनले बताए। नेपालमा ६० वर्षअगाडिसम्म विषादी प्रयोग नभएको उनले जनाए। नेपालमा वार्षिक १२ किलो विषादी आयात हुने प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रको तथ्यांकमा उल्लेख छ। अर्गानिक खेतीतर्फ किसानलाई प्रोत्साहन गरे नेपाली मुद्रा विदेशिनबाट रोकिने उनले बताए।

प्रकाशित: ८ चैत्र २०८१ १६:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App