१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

एक महिनामा आगलागीबाट ६ जनाको मृत्यु, ३८ परिवार विस्थापित

फाइल तस्बिर

गएको एक महिनामा देशका विभिन्न क्षेत्रमा भएको आगलागीबाट ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक पुरुष, चार महिला र एक बालक छन्। ती आगलागीका घटनामा ३० पुरुष, २६ महिला, ६ बालक र तीन बालिका घाइते भएका छन्।

एक महिनामा देशभर ५०१ आगलागीका घटना भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिएका छन्। आगलागीबाट ८७ घर र ५७ गोठमा क्षति भएको छ। आगलागीले १४६ पशुचौपाया मरेका छन्। 

घटनापछि ३८ परिवार विस्थापित भएका छन्। आगलागीबाट ४० करोड ४८ लाख रुपैयाँ बराबरको क्षति भएको छ। विभिन्न स्थानमा लागेको आगलागी नियन्त्रणका लागि तीन हजार ६१४ प्रहरी परिचालन गरिएको आचार्यले बताएका छन्।

सबैभन्दा बढी कोशी प्रदेशमा १३५ आगलागीका घटना भएका छन्। मधेस प्रदेशमा १०५, बागमती प्रदेशमा ४४, काठमाडौं उपत्यकामा ४९, गण्डकी प्रदेशमा ३३, लुम्बिनीमा ६४, कर्णालीमा ३० र सुदूरपश्चिम प्रदेशमा ४१ आगलागीका घटना भएको प्रवक्ता आचार्यले जानकारी दिएका छन्। 

वर्षा कम भएको र सुक्खा मौसमका कारण देशका विभिन्न ठाउँमा आगलागीका घटना भइरहेका छन्। अब आगलागीका घटना बढ्ने भएकाले सचेत हुन गृहमन्त्रालयले सबैलाई अनुरोध गरेको छ। रासस

प्रकाशित: ८ चैत्र २०८१ १५:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App