लुम्बिनी प्रदेश सरकारले पर्यटनलाई आर्थिक समृद्धिको मुख्य आधार मानेर बाह्य पर्यटकको आगमन बढाउने लक्ष्य लिएको छ। खासगरी भारतीय पर्यटकलाई बढी संख्यामा भित्र्याउन सके आर्थिक लक्ष्य पूरा हुने सरकारको ठहर छ।
तर, बाह्य पर्यटकले प्रदेशमा घुम्दा प्रहरीको बारम्बार चेकिङ र अनावश्यक झन्झटको गुनासो गर्दै आएका छन्। कतिपयले प्रहरीले ठाउँ–ठाउँमा चेकिङ गरी पैसा असुल्ने गरेको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि व्यक्त गरेका छन्। ‘नेपाल घुम्न नजाने’ सम्म लेखेका छन्। यस्तो गुनासो सम्बोधन गर्न प्रदेश सरकारले पहल गरेको छ।
लुम्बिनीमा आउने बाह्य पर्यटकले प्रहरी चेकिङको हैरानी भोग्नुपरेको विषय उठेपछि सरकारले ‘पहेँलो कार्ड’ व्यवस्था गरेको छ। यो कार्डले पर्यटकको सहज यात्रा सुनिश्चित गर्ने उद्देश्य राखिएको छ। उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले बाह्य पर्यटक चढ्ने सवारी साधनका लागि पहेँलो कार्डको व्यवस्थापन गरेको हो।
मन्त्रालयका अनुसार, नाका क्षेत्रमा यो कार्ड वितरण गरिनेछ। कार्ड पाएका सवारी साधनलाई पटक–पटक चेकिङको झन्झट नहुने व्यवस्था मिलाइने छ। मन्त्री प्रचण्डविक्रम न्यौपानेले भने, ‘नाकामा पर्यटक चढेका गाडीको चेकिङ हुन्छ र पहेँलो कार्ड दिइन्छ। यो कार्ड चेकिङ भएको संकेत हो। त्यसपछि बाटोमा पुनः चेकिङ नहुने गरी व्यवस्था गरिनेछ।’
मन्त्रालयले पहेँलो कार्ड छपाइ गरिसकेको र चाँडै नाका क्षेत्रमा पठाउने जनाएको छ। यसका लागि प्रहरीसँग समन्वय गरी कार्यान्वयन गरिने मन्त्री न्यौपानेले बताए। उनले भने, ‘कार्ड छपाइ भइसकेको छ। अब नाकामा पठाइनेछ। प्रहरीलगायत चेकिङ गर्ने निकायसँग समन्वय गरेर यो लागू गरिनेछ।’
मन्त्रालयले पहेँलो कार्ड पाएका पर्यटकका सवारी साधनलाई अनावश्यक चेकिङ नहुने वातावरण बनाउन प्रहरीसँग सहकार्य गर्ने योजना बनाएको छ। मन्त्री न्यौपानेले थपे, ‘भारतीय पर्यटकबाट अनावश्यक चेकिङको गुनासो धेरै आएको छ। उनीहरूले नेपाल आउन नसक्ने भन्दै असन्तुष्टि जनाएका छन्। यो कार्डले सहज यात्राको वातावरण बनाउनेछ र जथाभावी चेकिङको अन्त्य हुनेछ।’
लुम्बिनी प्रदेशमा भारतीय पर्यटक भित्रिने मुख्य नाकाहरू रुपन्देहीको भैरहवा, बाँकेको नेपालगञ्ज, कपिलवस्तुको कृष्णनगर र दाङको कोइलावास हुन्। यी नाकाबाट भारतीय गाडी प्रयोग गरी पर्यटकहरू प्रदेशका पर्यटकीय गन्तव्यमा पुग्ने गरेका छन्।
प्रकाशित: ६ चैत्र २०८१ १४:५७ बुधबार