हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मंगलबार प्रदेश २–०३–०१८ प ३२०६ नम्बरको मोटरसाइकलमा सवार रौतहटको दुर्गा भगवतीपुर गाउँपालिका–५, बस्ने ४६ वर्षका नरेशप्रसाद जयसवालको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका जयसवाललाई तत्काल उपचारका लागि वीरगन्ज लैजाँदै गर्दा बाटोमा उनको मृत्यु भएको परिवारलाई उद्धृत गर्दै जिल्ला प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
सोही मोटरसाइकलमा सवार राजदेवी नगरपालिका–३, पथरा बस्ने ४५ वर्षका सिकेन्द्र बैठा गम्भीर घाइते भएका छन्।
बैठाको वीरगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न अर्को प्रदेश २–००६ प ००६ नम्बरको मोटरसाइकलका चालक सर्लाहीको रामनगर गाउँपालिका–१, निवासी ३० वर्षका होसनारायण रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुवै मोटरसाइकलसमेत नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए।
मृतक जयसवालको शव परीक्षणका लागि वीरगन्जस्थित बयोधा अस्पतालमा राखिएको छ।
प्रकाशित: ५ चैत्र २०८१ २०:३५ मंगलबार