एनसेल फाउन्डेशनले सामाजिक उत्तरदायित्वअन्तर्गत कपिलवस्तु नगरपालिका–१०, बिकुलीका तीन सय विद्यार्थीलाई झोला सहित शैक्षिक सामग्री वितरण गरेको छ।
बिकुलीस्थित राष्ट्रिय माविका २ सय ४० तथा मदर्सा बाहारुल उलुम बिर्ताका ६० विद्यार्थीलाई सामग्री प्रदान गरिएको हो।

‘नेपाल प्रिमियर लिग (एनपीएल) मा एक चौका बराबर चार स्कुल ब्याग’ कार्यक्रमअन्तर्गत वितरण गरिएको उक्त सामग्री क्यानका सचिव तथा पूर्व क्रिकेटर पारस खडका नेतृत्वको टोलीले हस्तान्तरण गरेको हो।
वितरण गरिएका सामग्रीमा स्कुल ब्यागसहित ज्यामिती बक्स, दुई वटा कपी, पेन्सिल, कटर र इरेजर रहेका छन्।
एनसेल फाउन्डेशनका निर्देशक बिकासा लक्ष्मी खडकाका अनुसार यो कार्यक्रमअन्तर्गत हालसम्म ६० भन्दा बढी विद्यालयका ६ हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिसकिएको छ। ‘हाम्रो लक्ष्य २६ हजारभन्दा बढी ब्याग वितरण गर्नु हो’, उनले भनिन्।
कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खडकाले ‘एनपीएल सफलतापूर्वक सम्पन्न गर्न सबैको साथ र मायाले महत्वपूर्ण भूमिका खेलेको’ बताए।
उनले एनसेल फाउन्डेशनले घोषणा गरेअनुसार विद्यार्थीलाई सामग्री प्रदान गरिएको उल्लेख गर्दै सहयोग सानो भए पनि यसको प्रभाव ठूलो हुने बताए।
फाउन्डेशनका प्रमुख कार्यकारी अधिकृत जाब्वार आयुमोदसहितको टोलीको उपस्थिति रहेको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामहेतु चौधरीले अनलाइन आवेदन प्रक्रियामार्फत आफ्नै विद्यालय छनोट भएको जानकारी दिए।
उनले यस पहलले विद्यालयमा सकारात्मक प्रभाव पारेको सुनाए। शैक्षिक सामग्री प्राप्त गरेपछि विद्यार्थीहरू हर्षित बनेका थिए।
प्रकाशित: ५ चैत्र २०८१ २०:२१ मंगलबार