२० चैत्र २०८१ बुधबार
image/svg+xml १९:४७ अपराह्न
समाज

अमेरिकाको टेक्सासले मार्च १३ मा ‘लुम्बिनी दिवस’ मनाउने

बुद्ध परिपथको अन्तर्राष्ट्रिय रूपमा प्रवर्द्धन र प्रचार–प्रसारका लागि अमेरिकाको टेक्सस राज्यसभाले मार्च १३ लाई ‘लुम्बिनी दिवस’ का रूपमा मनाउने निर्णय गरेको छ। टेक्ससको राजधानी अस्टिनमा टेक्सस सभाले मार्च १३ लाई लुम्बिनी दिवसका रूपमा मनाउने निर्णय गरेको टेक्ससबाट कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले बताए।

एक साताअघि बुद्ध परिपथअन्तर्गत तीन जिल्लाका चार नगरपालिकाका मेयरसहितको सात सदस्यीय प्रतिनिधिमण्डल टेक्सस पुगेको थियो। टेक्ससको राजधानी अस्टिनमा सो टोलीको सहभागितामा समन्वय बैठक सम्पन्न भएको छ। बैठकमा नेपाली प्रतिनिधिमण्डलका साथै अमेरिकामा रहेका नेपाली संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो। बैठकमा कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेल, देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेल, रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव, लुम्बिनी सांस्कृतिक नगरपालिकाका लेखा अधिकृत रामचन्द्र अर्याल, तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, नेपाल सरकारका उपसचिव रामप्रसाद ज्ञवाली, बुद्ध परिपथ नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछाने सहभागी छन्।

बैठकमा बुद्ध परिपथका नगरपालिका र अमेरिकास्थित नेपाली समुदायबिच पर्यटन प्रवर्द्धन, नेपाली धर्म र संस्कृतिको संरक्षण तथा विकासका लागि दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको मेयर पौडेलले बताए। अस्टिनमा स्थापित पशुपतिनाथ मन्दिर एवम् प्रस्तावित बुद्ध स्तुपा र विहारमार्फत लुम्बिनीको प्रचार–प्रसारमा सहयोग गर्ने निर्णय भएको मेयर पौडेलले बताए। ‘हामीले अमेरिकी नागरिकलाई बुद्ध परिपथको भ्रमणका लागि निम्तो दिएका छौं’, उनले भने।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका सूचना अधिकारी रामचन्द्र अर्यालले मार्च १३ बुद्ध परिपथको प्रचार–प्रसारका लागि कोसेढंगा साबित हुने बताए। बुद्ध परिपथमा रहेका पालिकाहरूको निरन्तरको पहलले यस्तो कार्यक्रम हुने वातावरण सिर्जना भएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वयकर्ता तुलसीराम लामिछानेले बताए। नेपाल सरकारका उपसचिव रामप्रसाद ज्ञवालीले समग्र लुम्बिनी र लुम्बिनी परिपथको पर्यटन सम्भावनालाई यस दिनले थप उजागर गर्ने बताए। तिलोत्तमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले नेपालका अन्य पर्यटकीय स्थलको थप प्रवर्द्धन गर्न यस्ता कदम महत्वपूर्ण हुने बताए।

बैठकमा युएसए टेक्सस एवं ग्रेटर अस्टिन नेपाली समुदाय आध्यात्मिक केन्द्र अस्टिन संयुक्त राज्य अमेरिकाको तर्फबाट लुम्बिनीको प्रचार–प्रसार र पर्यटन प्रवद्र्धनमा निरन्तर लागिरहेका सामाजिक अभियन्ता एवम् प्राध्यापक डा. प्रभात दीक्षित, इन्द्रेणी सांस्कृतिक संघ इरभिङ टेक्सस, संयुक्त राज्य अमेरिकाका अध्यक्ष एवं पर्यटन विभाग प्रमुख गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका, (एनआरएनए एनसीसी अमेरिका) का उपाध्यक्ष नेत्रप्रसाद पाण्डे, एनइएजेए युएसएका अध्यक्ष सुरज भण्डारी, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिका, (एनआरएनए एनसिसी अमेरिका) अध्यक्ष सविन्द्र थापा, ग्रेटर नेपाल अस्टिन सोसाइटीका अध्यक्ष विदुर खतिवडा, राससका युएसए प्रतिनिधि शंकर थापा र प्रतिनिधिहरूको उपस्थिति थियो।

बुद्ध परिपथ लुम्बिनी प्रदेश नेपालका पालिकाहरू कपिलवस्तु, लुम्बिनी सांस्कृतिक, देवदह, रामग्राम र तिलोत्तमा र नेपालको पर्यटन प्रवद्र्धन, नेपाली धर्म र संस्कृतिको संरक्षण तथा विकासका लागि अस्टिनमा स्थापित पशुपतिनाथ मन्दिर एवम् प्रस्तावित बुद्ध स्तुपा र विहारमार्फत लुम्बिनीको प्रचार–प्रसारमा सहयोग र सहकार्य गर्ने निर्णय भएको थियो।

प्रकाशित: ५ चैत्र २०८१ ११:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App