११ असार २०८१ मंगलबार
image/svg+xml
समाज

दिल्लीको कोठीबाट नाबालिकासहित तीन जनाको उद्दार

नेपालगन्ज– भारतको दिल्लीस्थित चर्चित जिबी रोडमा रहेको ६४ नम्बर कोठीबाट एक नाबालिका र दुई नेपाली युवतीको उद्दार गरिएको छ। भारतको आग्रास्थित कास्मिरी बजारमा रहेको एक कोठीबाट ५ नेपाली युवतीलाई उद्दार गरेको एक महिना नपुग्दै माईती नेपालको अगुवाईमा पुनः उद्दार गरिएको हो। 

माइती नेपाल नेपालगन्जका क्षेत्रीय प्रमुख केशव कोइरालाका अनुसार यही बैशाख ४ गते भारतस्थित रेक्यु फाउण्डेशन र भारतीय प्रहरीको क्राईम ब्रान्चको सहयोगमा उनीहरुलाई उद्दार गरिएको थियो। उद्दार हुनेमा नुवाकोट निवासी १७ बर्षिया तथा पर्सा घर बताउने १८ बर्षिया र उनकी १ बर्षिया नाबालिका छोरी रहेका छन्।

पीडितले दिएको बयान अनुसार उनीहरु दुबैलाई काममा लगाईदिने प्रलोभन देखाएर दिदी साईनो पर्ने महिला र साथीले भारत पु¥याएका थिए। नुवाकोटकी १७ बर्षिया युवती डेढ वर्ष अघि गाउँकै दिदीमार्फत भारत पुगेकी थिईन्। ‘दिदीले भारतमा राम्रो काम मिल्छ भनेर ल्याउनु भयो, त्यसपछि एक्कासी कोठीमा बेचेको थाहाँ पाएँ,’ पीडितलाई उद्धृत गर्दै कोइरालाले भने। कोठीमा बेचिएपछि मालिकले जबरजस्ती यौन कार्यमा लगाएको उनले बताएकी छन्।

पर्सा घर बताउने १८ बर्षिया महिलाको पीडा त झन् दर्दनाक छ। उनलाई गाउँकै दिदी साहिनो पर्ने र एक जना साथीले फकाई फुलाई गरेर करिब ३ वर्षअघि भारत पु¥याएका थिए। गरिब परिवारकी उनी दिदी र साथीको प्रलोभनमा परेर भारतको दिल्ली पुगिन्। त्यहाँ पुगेलगत्तै उनलाई कोठीमा बिक्री गरे। उनलाई कोठी सञ्चालकले जबरजस्ती यौन कार्यमा लाग्न बाध्य गराए। 

यौन सम्बन्धकै क्रममै उनी गर्भवती भईन् र कोठीभित्रै छोरी जन्माईन्। ‘गर्भवती अवस्थामा समेत मलाई जबरजस्ती यौन कार्यमा लगाईन्थ्यो, छोरी जन्मिएको केही समयपछि फेरि यौन कार्यमा लाग्न बाध्य गराईयो,’ पीडितको भनाई उद्धृत गर्दै कोइरालाले भने ‘छोरीलाई राम्ररी स्याहार गर्न पाईएन, कसबाट गर्भ रहन गयो, त्यो पनि थाहा छैन।’ 

आफुलाई कोठी मालिकले छोरीको स्याहारसँगै यौन ब्यवसायमा संलग्न गराउँदै आएको उनले दुखेसो पोखेकी छन्। कोठीभित्र संरक्षण नपाउँदा १ बर्षिया नाबालिकाको दुब्लो, पातलो रहेको कोइरालाले बताए। ‘बच्चीको अवस्था एकदमै टिठ लाग्दो छ, कोठीमा छापा मार्दा आमासँगै त्यो बच्चीलाई पनि सँगै उद्धार गरेका छौं,’ कोइरालाले भने। 

प्रकाशित: ९ वैशाख २०७५ १६:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App