नगरकोट भ्रमण वर्ष २०८२ वैशाख १ गतेदेखि सुरु भई चैत मसान्तसम्म विविध कार्यक्रमसहित मनाइने भएको छ।
चाँगुनारायण नगरपालिकाको आयोजनामा वर्ष दिनसम्म सञ्चालन हुने भ्रमण वर्षमा विभिन्न सांस्कृतिक, खेलकुद, धार्मिक तथा पर्यटकीय प्रवर्द्धनसम्बन्धी कार्यक्रमहरू समावेश छन्।
नगरपालिकाका प्रमुख जीवन खत्रीका अनुसार नगरकोटसँग जोडिएका चार वटा नगरपालिकाको संयुक्त सहकार्यमा महोत्सव आयोजना गर्न लागिएको हो।
भक्तपुरको चाँगुनारायण, काठमाडौँको शंखरापुर, काभ्रेको बनेपा र मण्डन देउपुर नगरपालिकाले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नेछन्।
महोत्सवका लागि पर्यटन विज्ञ डा. घनश्याम खतिवडालाई नियुक्त गरिएको छ। उनले नगरकोट भ्रमण वर्ष २०८२ अन्तर्गत नगरकोटका विशेषता मात्र नभई वरपरका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक स्थलहरूलाई समेत प्रवर्द्धन गर्ने योजना सार्वजनिक गरे।

खतिवडाका अनुसार नगरकोटमा सूर्योदय र सूर्यास्त हेर्न मात्र नभई धार्मिक तथा पुरातात्त्विक स्थलहरू घुम्न आउने पर्यटकलाई आकर्षित गराउने लक्ष्य लिइएको छ।
विश्व सम्पदा सूचीमा सूचिकृत ऐतिहासिक चाँगुनारायण मन्दिरको विशेषतालाई अन्तर्राष्ट्रिय रूपमा प्रचार गर्ने, अध्ययन-अनुसन्धानकर्ताहरू तथा हिन्दू-बौद्ध धर्मावलम्बीहरूका लागि आकर्षण केन्द्र बनाउने योजनासमेत रहेको छ।
नगरकोट भ्रमण वर्षअन्तर्गत चाँगुनारायण मन्दिरसँगै त्रिशूल डाँडा, शान्ति डाँडा, ज्योतिर्लिंगेश्वर, महादेव पोखरी, बाल्मीकेश्वर, भीमेश्वर, कल्पेश्वर, मच्छेनारायण, सरस्वतीस्थान, फैढोका गणेश, मुहान पोखरी, रानी झुला, ब्रह्मायणी, यातु महादेव, बोझिनी ड्याम, चट्टान अभिलेख लगायतका स्थलहरूको पर्यटन प्रवर्द्धन गरिने छ।
वैशाख १ गते नगरकोटमा उद्घाटन कार्यक्रम आयोजना हुनेछ। सो अवसरमा नगरपालिकाका ९ वटै वडाबाट मौलिकता झल्कने नृत्य प्रस्तुत गरिनुका साथै राष्ट्रिय स्तरका कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिनेछन्।
वर्षभरि नगरकोट तथा चाँगुनारायण नगरपालिकाभित्र विभिन्न गतिविधिहरू सञ्चालन गरिनेछ। तीमध्ये प्रमुख कार्यक्रमहरू यस प्रकार छन्:
✔ सांस्कृतिक कार्यक्रमहरू – विभिन्न वडामा परम्परागत नृत्य तथा सांगीतिक कार्यक्रम
✔ कृषि तथा पर्यटन मेला – स्थानीय उत्पादन र हस्तकलाको प्रवर्द्धन
✔ खेलकुद कार्यक्रम – साइक्लिङ प्रतियोगिता, चङ्गा चेट, रोपाईं जात्रा
✔ धार्मिक उत्सवहरू – कल्पेश्वर शिव महापुराण, विष्णु महापुराण, महादेव पोखरी जात्रा, श्रावणी मेला
✔ साहित्यिक तथा पर्यटकीय प्रवर्द्धन कार्यक्रम – पर्यटन सूचना सञ्जालीकरण, स्थानीय कला-संस्कृतिको प्रचारप्रसार
यस अतिरिक्त, नगरकोटमा निर्माणाधीन १०८ फिट अग्लो सरस्वती मूर्ति तथा १०८ फिट अग्लो कल्पेश्वर महादेव मूर्तिको प्रवर्द्धन गर्दै नगरपालिकाभित्र रहेका पर्यटकीय गन्तव्यहरूको विस्तृत प्रचार-प्रसार गरिने छ।
नगरकोट भ्रमण वर्षको मुख्य उद्देश्य स्थानीय कला, भाषा, साहित्य तथा संस्कृतिको प्रवर्द्धन गर्नुका साथै पर्यटन पूर्वाधार विकासमार्फत पर्यटन बजार विस्तार र सुदृढीकरण गर्ने हो।
नगरपालिकाले पर्यटकका लागि न्यूनतम सेवा सुविधा मापदण्ड तोक्दै, सत्कार व्यवस्थापन सुधार गर्ने, तथा प्राकृतिक स्रोतहरूको संरक्षण, उपयोग र व्यवस्थापनलाई प्राथमिकता दिने योजना बनाएको छ।
यस भ्रमण वर्षले नगरकोट तथा चाँगुनारायण नगरपालिकालाई थप पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्दै आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ।
प्रकाशित: २८ फाल्गुन २०८१ २१:०३ बुधबार