रेबिज रोग र कुकुरको नियन्त्रणका लागि कपिलवस्तुको तौलिहवामा सामुदायिक कुकुर बन्ध्याकरण अभियान सुरु गरिएको छ।
वाईसिएसए नेपालको प्राविधिक सहयोग र भेट्नरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजनामा अभियान सुरु गरिएको हो ।
केन्द्रको अगुवाइमा यो अभियान जिल्ला मै दोश्रो पटक गरिएको हो । जिल्ला समन्वय समितिका उप प्रमुख रमेश कुर्मीले ब्यानर पढेर कार्यक्रमको शुभारम्भ गर्दै अभियानले कुकुरका कारण हुने रेबिज रोगको नियन्त्रणका लागि भूमिका खेल्ने बताए । उनले यस्तो अभियान सबै पालिकाहरूले गर्नु पर्नेमा जोड दिँदै रेबिज रोग विरुद्धको भ्रम चिर्नका लागि समेत जन चेतना फैलाउन जरुरी रहेको बताए ।
‘केन्द्रले जिल्लामा अभियान आफैमा महत्त्वपूर्ण छ, यो अभियान सबै पालिकाले गर्न जरुरी छ ’ उनले भने । केन्द्रका प्रमुख डाक्टर प्रबेज आलमले सरकारले रेबिज रोगलाई सन २०३० भित्र उन्मुलन गर्ने योजना अनुसार अभियान सञ्चालन गरिएको बताए । ‘ रेबिज रोग र कुकुरहरुको संख्या नियन्त्रणकालागि अभियान सञ्चालन गरेका हौ ’ उनले भने । बन्ध्याकरण पछि कुकुरको संख्या नियन्त्रणमा आउने, कुकुरहरु आक्रामक नहुने भएकाले यो अभियान चलाइएको बताए ।
कुकरको संख्या घटे भने दुर्घटना समेत कम गर्न मद्दत मिल्ने उनले बताए । अभियानमा तौलिहवामा रहेका १ सय ३० कुकुरको बन्ध्याकरण पछि रेबिज विरुद्ध सुइँ लगाइने उनले बताए । तौलिहवा बजार र केन्द्रका आसपासमा रहेको ककुरहरु संकलन गरी बन्ध्याकरण सुरु गरिएको हो । वाईसिएसए नेपालका डाक्टर बिरेन्द्र श्रेष्ठको नेतृत्वमा रहेको टोलीले संकलन र बन्ध्याकरणको काम जारी राखेको छन् ।
संकलन गरिएका कुकुरलाई बेहोस पारेर भाले र पोथी दुवैको बन्ध्याकरण गरिएको छ। बन्ध्याकरण गरिएका कुकुरको देब्रे कानमा निशान समेत लगाइएको छ । डाक्टर श्रेष्ठले रेबिज बारे धेरैलाई जानकारी नहुँदा समाजका यो रोग बारे धेरै भ्रमहरू रहेकोले जन चेतनाको काम फैलाउनु पर्ने बताए । ‘ रेबिज रोग विरुद्ध जानकारी नभै कुकुर पाल्नेको संख्या धेरै छ, त्यसले यस बार बेलैमा सचेत हुन पर्छ ’ उनले भने । डाक्टर आलमको अध्यक्षता कार्यक्रम भएको थियो । अभियान २ दिन सम्म चल्नेछ ।
प्रकाशित: २७ फाल्गुन २०८१ १७:५४ मंगलबार