गएको तीन दिनको अवधिमा लगातार सवारी दुर्घटना हुँदा सदरमुकाम गाईघाट र आसपासमा चार जनाको ज्यान गएको छ। आइतबार दिउँसो मात्र त्रियुगा नगरपालिका ८ राजाबासमा भएको दुर्घटनामा परी एक वृद्धा र अघिल्लो दिन एक युवक तथा एक दिनअघि एकै घरका दुई दिदीबहिनीको ज्यान गएको हो।
आइतबार दिउँसो मदन भण्डारी लोकमार्ग अन्तर्गत त्रियुगा नगरपालिका ८ राजाबासमा भएको दुर्घटनामा परी सोही ठाउँकी ६५ वर्षीया टीकामाया कार्कीको निधन भएको छ। पैदलयात्रामा रहेकी कार्कीको प्रदेश १–०५–००१ प ८३५९ नं. को मोटरसाइकलले बाटो काट्ने क्रममा ठक्कर दिँदा ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले जनाएको छ।
ट्राफिक हवल्दार भुवन राईका अनुसार मोटरसाइकल ठक्करबाट गम्भीर घाइते कार्कीलाई उद्धार गरी जिल्ला अस्पताल उदयपुर लगिएकोमा त्यहाँ संभव नभएपछि न्युरो अस्पताल विराटनगर रिफर गरिएको थियो। तर, विराटनगरतर्फ लाने क्रममा उनको बाटैमा निधन भएको हो। ठक्कर दिने चालक रौतामाई गाउँपालिका ७ मुर्कुचीका गजेन्द्र दाहाल र मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाईसकेको छ।
हवल्दार राईका अनुसार मोटरसाईकल चालक दाहाले सकुशल रहेका छन् भने पछाडि सवार उदयपुरगढी गाउँपालिका ७ नेपालटार घर भई त्रियुगा नगरपालिका ११ निलो पुल बस्दै आएकी मीना तामाङ सामान्य घाइते भएकी छिन्। उनको उपचारपछि डिस्चार्ज भइसकेको छ। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ भने घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
गएको ३ दिनयता उदयपुरमा लगातार सवारी दुर्घटनामा २ बालिका, १ युवक र १ बृद्धाको ज्यान गइसकेको छ। अघिल्लो दिन शनिबार मात्र अटो रिक्सासँग ठोक्किँदा मोटरसाईकल चालक युवकले ज्यान गुमाएका थिए।
साँझ ६ः०० बजे त्रियुगा ९ राजाबासमै भएको अटो र मोटरसाइकल ठक्कर दुर्घटनामा २६ वर्षीया अजय लिम्बुको निधन भएको थियो। मोरङको लेटाङ नगरपालिका ७ का लिम्बु सवार प्रदेश १–०२–०४ प ५७४३ नं. को मोटरसाईकल र प्रदेश १–०५–००१ ह ०३१० नं. को अटो रिक्सा एकापसमा ठोक्किदा गम्भीर घाईते चालक लिम्बुको जिल्ला अस्पतालमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परे पनि अटो चालक त्रियुगा नगरपालिका ७ का ३८ वर्षीय भुलेलाल दनुवार भने सकुशल रहेका छन्। उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिहेको छ।
यसअघि शुक्रबार राति डिएमगेट आसपास दुर्गा मन्दिरछेउको भित्री सडकमा बोलेरो जीपको ठक्करबाट स्थानीय १० र १४ वर्षीया २ बालिकाको ज्यान गएको थियो। गाईघाटस्थित हिमशिखर फर्निचरको सामान बाकेर बसपार्कतर्फ जाँदै गरेको बोलेरोले ठक्कर दिँदा सप्तरी स्थायी घर भई त्रियुगा नगरपालिका १२ बस्दै आएका बहिनी देवी र दिदी अनु दासको निधन भएको थियो।
शुक्रबार भएको बोलेर दुर्घटनामा परी दुई दिदीबहिनीले एकै साथ ज्यान गुमाएको थियो भने हिजो शनिबार मात्रै मोटरसाइकल र अटो ठोक्किँदा एक युवकले ज्यान गुमाएका थिए। लगातारै आज आइतबार भएको मोटरसाइकल दुर्घटनामा फेरि महिलाले ज्यान गुमाएको हो।
प्रकाशित: २६ फाल्गुन २०८१ ०७:२२ सोमबार





